टोकियो, जापान । संक्रामक कोरोना भाइरसको महामारी फैलिएको ईण्डियालाई जापानले कडा क्वारिन्टिन
नियम मान्नुपर्ने देशको सूचिमा समेटेको छ । यो संँगै जापानले संक्रामक
कोभिड-१९ भाइरस रोकथाम नियमन अन्तर्गत नयाँ क्वारिन्टिन उपायहरूको अधीनमा रहेका
देशहरूको संख्या ३२ पुगेको छ । ईण्डियामा बेलायती सहित नयाँ डबल म्युटेन्ट कोरोना भाइरस संक्रमणको संख्यामा
द्रुत बृद्धि सँगै ज्यान गुमाउनेको संख्या दैनिक ३ हजार भन्दा बढी भइरहेको छ । जापानको एयरपोर्ट क्वारेन्टाइनमा अहिलेसम्म २० जना व्यक्तिमा ईण्डियन
संस्करणसँग मेल खाने संक्रामक भाइरस पुष्टि भइसकेको छ ।
नेपाल खतराको सूचिमा
ईण्डियासँग खुला सिमाना
रहेको नेपालमा हालैका हप्तामा व्यापक कोभिड १९ संक्रमितको संख्या बृद्धि भएको छ ।
संक्रमणसँगै निधनको संख्या समेत बढिरहँदा काठमाडौं उपत्यकामा लकडाउन गरिएको छ ।
लकडाउनपछि नेपालस्थित
जापानी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । अब कहिले खुल्छ
भन्ने सूचना पछि जारी गरिने दूतावासले बताएको छ ।
यस्तोमा ईण्डियन भाइरसका
बिरामीको संख्या नेपालमा फेला पर्नेक्रम बढिरहँदा नेपाल समेत जापानको प्रवेशमा
कडाई गरिएको देशको सूचिमा थपिने जोखिम बढेको छ । हाल जापानले कडा क्वारिन्टिन प्रावधानमा समेटेको देशबाट
आउने व्यक्तिहरुले जापानले तोकेको स्थानमा ३ दिन क्वारिन्टिनमा बस्नुपर्नेछ ।
त्यस्तो स्थानमा बस्दाको शुल्क व्यक्ति आफैंले तिर्नुपर्छ ।
जापान प्रवेशसँगै
बिमानस्थल र तीनदिनपछि पुन गरिएको परीक्षणमा नकारात्मक पाइएपछि मात्र व्यक्ति
आफ्नो वासस्थानमा जान सक्नेछन् । वासस्थानमा समेत पुन दुई साता क्वारिन्टिन नियम
पालना गरेपछि मात्र सार्वजनिक सवारी साधन सहित बाहिरि घुमघाम गर्नसक्नेछन् ।

Comments
Post a Comment