भ्याक्सिन पासपोर्टको साथमा अन्तरराष्ट्रिय यात्रा पुनः खुलाउँदै जापान

 



टोकियो ।

हवाई यात्राहरु रद्द भएको, टिकटको पैसा फिर्ता आएको अनि टाढा टाढा भएकाहरुसँग भिडियोमा कुराकानी गरेर चित्त बुझाएको एक वर्ष भन्दा धेरै भइसक्यो । तर कोभिड–१९ विरोधी खोप लगाउन शुरु भएसँगै लामो समयदेखि थाँति राखिएको यात्रा अब चाँहि गर्न पाइन्छ कि भन्ने आशा पलाउन थालेको छ ।

अन्तरराष्ट्रिय यात्रा सुरक्षित तवरले सुचारु गर्न अमेरिकाको साथै यू्रोपेली संघ (ईयू)मा आबद्ध देशहरुले समेत खोप राहदानी प्रणाली शुरु गर्न थालेका छन् । जापानले पनि यसलाई पछ्याइरहेको छ । क्योदो न्यूजका अनुसार खोपको प्रमाण उपलब्ध गराउन जापान सरकारले डिजिटल प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । व्यवसायिक यात्रा सुचारु गर्ने र अर्थतन्त्रलाई टेवा दिने उद्देश्यले यो प्रणाली लागू गर्न खोजिएको हो ।

खोप राहदानी कमन पास नामक एपमा आधारित हुनेछ । यो विश्व आर्थिक मञ्चको नेतृत्वमा विकास भएको हो । यस एपले यात्रीहरुलाई विमानभित्र पस्नु अघि क्यूआर कोड प्रयोग गरेर कोभिड–१९ को अवस्था प्रमाणित गर्ने अनुमति दिनेछ । यो प्रणाली खोप लगाइसकेका मानिसहरुको लागि देशभित्र र बाहिर यात्रा सहज बनाउन तयार पारिएको हो । जापानको कोरोना भाइरस विरोधी खोप अभियान मन्त्री तारो कोनोले यस अघि नै अरु देशहरुले पनि गर्छन भने जापानले पनि खोप राहदानी प्रयोगबारे पुनःविचार गर्न जरुरी रहेको बताएका थिए । यद्यपि, यसले खोप लगाउन अनिच्छुक र खोप लगाउन नसक्नेहरुमाथि भे’दभाव हुने उनको भनाइ थियो । एपलाई खोप नै नलगाएकाहरुमा पनि कोरोना भाइरस छैन भनेर प्रमाण देखाउन वैकल्पिक रुपमा पनि प्रयोग गर्न सकिनेछ ।



Comments