आज ठ्याक्कै ११ महिना भएछ, हुँदा खादाको जागिर छाडेर,जापान जाने मिठो सपनामा रुमल्लिएको । तर के
गर्नु यो सपनाबाट न बिउँझिन सकेको छु, न त सपनामै रमाउन सक्छु ।
नेपालमै जागिर राम्रै
थियो, महिनाको २०/२५ हजार कमाई भईरहेको थियो । खान बस्नलाई त कुनै
समस्या थिएन । तर,सँधै २०/२५ हजारले नपुग्ने रहेछ । अनि नेपालमै
अरु जागिर वा पेशा व्यवसाय गर्ने सोच बनाए पनि जागिरका लागि सोर्स/फोर्स पुगेन र
व्यवसायका लागि पैसा । त्यसपछि,
अरु लाखौँ युवाहरुले
जस्तै मैलेपनि हरियो पासपोर्टलाई मेरो भविष्य सुम्पिने प्रण गरेर, विदेशिने निर्णय गरेको थिएँ । धेरै विकल्पहरु मध्ये मेरो लागि जापान उपयुक्त
हुनसक्छ कि जस्तो लाग्यो, किनकि, उदेश्य जे भएपनि सजिलै
विद्यार्थी बनेर जान सकिने मुलुकको सुचीमा अगाडी देखेँ जापान । हुनत, पढ्ने त एउटा बाहना नै हो, त्यसै भन्छन् जापान गएकाहरुले । जे होस जापान
जाने सोच आयो र अलि अलि यताउति कन्सल्टेंसीहरुमा बुझेर, भाषा पढ्न थालेँ। जिन्दगीमा कहिलै नसोचेको जापानी भाषा पढ्न थालेँ, मन पटक्कै लाग्दैन थ्यो तर त्यो भाषा जानेपछि, जापान जान पाईन्छ र जापान
गएपछि पैसा कमाउन पाईन्छ, दिमागमा यति कुरा घुसेको थियो त्यसैले सकि नसकि
हिरागाना/काताकाना र केहि सजिला खान्जीहरु पढ्न थालेँ । पढ्दै जाँदा भाषा उत्पात
गाह्रो त लागेन । बिस्तारै बिस्तारै -‘वातासिनो नामाए वा… सुविन देस’
‘निज्युउरोकुसाई देस’निहोन ए ईत्तो बेन्क्यो ओ गान्बारीताई तो ओमोईमास’ जस्ता केहि
आफ्ना परिचय तथा चाहनाहरु बताउने बाक्यहरु सिक्न थालेँ । पढाईमा जिन्दगीमा कहिलै
देस्रो नभएको आफ्नै ईतिहासले होला,
जित गाह्रो भएपनि जापान
गएर केहि गर्छु भन्ने हुटहुटी थियो मनमा ।
बिस्तारै बिस्तारै थाह
भयो, जापान जान पैसा पनि त राम्रै लाग्दो रहेछ । स्कुल फि, कन्सल्टेन्सीलाई कमिसन शुल्क,
आफ्नो लागि सपिंङ् यि
सबैका लागि मैले कम्तिमा १२/१३ लाख नेपाली रुपैँया जोहो गर्नुपर्ने भयो । सजिलो त
पटक्कै थिएन । सहरमा को छन् र गाउँ गएँ बा/आमालाई ठूला-ठूला सपना देखाएँ र बाकै
बुतामा ३६ प्रतिशत व्याज तिर्ने गरि १० लाख रुपैँया जति जोहो हुने बाटो बनाएँ र
फेरि काठमाडौँ फर्किएँ, अझ भनौँ मेरो सपनाको सहरमा फर्किएँ ।
जागिर खाँदै, भाषा पढ्दै, कन्सल्टेंसीलाई सबै कागजातहरु बुझाए र जापान
अप्लाईका लागि भएभरको सबै प्रकृयाहरु गर्न लगाएँ । त्यसो त अप्लाई गर्न पनि कहाँ
सजिलो थ्यो र सबै कागजात अनि बैंक व्यालेन्स के के हो के के । तै पनि सपनाको लागि
सबैकुरा जसो/तसो मिलाईयो । जापानको टोकियो सहरकै एउटा कलेजले लिने भयो । त्यहि
कलेजमा भाषा विद्यार्थीका लागि आवेदन दिने भएँ । फेरि अहिले टोकियोमा अप्लाई
गर्नेहरुलाई पहिलै यति तर्साईदिने कि, टोकियोमा त सिओई नै
आउँदैन ।सय जनामा ४/५ जनाको पनि सिओई झरेको छैन आदि/ईत्यादि ।
यि सबै लफडाहरु पार गरें
भन्नेले जति गाह्रो छ भने पनि मेरो सिओई आयो त्यो पनि टोकियोको ! सोचे मेरो भाग्य
खुल्यो । जापान जाने मान्छे अव नेपालको २० हजारको जागिरमा को झुण्डिने सिओई आएको
थाहपाएपछि जागिर छाडीदिएँ । त्यो भन्दा पछिका प्रोसेसहरुतर्फ लागेँ । सबै
राम्रैसंग गईरहेको थियो । हिजो नेपालमै एउटा स्टेसनरी पसल खोलौँ भन्दा २ लाख रुपैँ
जुटाउन नसकेको मैले यस पटक झण्डै १३ लाख रुपैयाँ जुटाएँ । अब सपना साकार हुँदै
थियो। टोकियो गएर, दिनरात नभनी मेहनत गरेर, लिएको भण तिर/तार पारेर छिटो भन्दा छिटो जिन्दगीलाई सम्पन्न बनाउनु थ्यो ।
बा/आमालाई खुसी दिनुथ्यो । म फर्केर आउँदा सम्म कुरेर बसी भने, बाजा बजाएर भत्र्याउनु थियो संजुलाई । आहा ! कल्पना मात्रै पनि कति मिठो थियो
।
तर, जिन्दगी सोचे जस्तै सरल रेखामा कहाँ अगाडी बढ्दो रहेछ र । मेरो पनि बढेन ।
अध्ययन, पैसा, भिसा केहिले नरोकेको मलाई अव अर्को महिना जापान
जाने भनेर दिन गनेर बसेको बेला कोरोना महामारीले डुबायो । कोरोना संक्रमण
नियन्त्रणका लागि जापानले सबै अन्तर्राष्ट्रीय आवज/जावत बन्द गरिदियो । जापानमा
भएका नेपालीहरु पनि चार्टड गरेको जहाजमा चढेर नेपाल फर्किन थालेँ । मेरो मनमा
ढ्यांग्रो बज्न थाल्यो । पर्खनुको बिकल्प थिएन । पर्खिएँ । पछि बिस्तारै नेपालबाट
जापान पनि जान दिए तर नयाँ भिसा वालावाई होईन, पुरानाहरुलाई मात्रा, जहाँ म परिन । तै पनि आस मार्न सकिनँ, पर्खिरहेँ, कुरिरहेँ जापानको समाचार सेयर गर्ने हरेक फेसबुक ग्रुप चाहरेँ, जापान बस्नेहरुलाई फेसबुकमा खोजी /खोजी साथी बनाए अपडेट लिएँ । आसाहरु
बिस्तारै निरासामा परिणत हुदै गए जबा जापानमा एक पछि अर्को आपतकाल घोषणाका खबरहरु
आउन थाले । तै पनि प्रतिक्षा गर्न त कहाँ छोड्न सकियो र । नेपालमा भएको जागिर
छोडेँ, ऋण खोजेर देख्दै नदेखेको जापानको स्कुलमा शुल्क डिपोजिट
गरेँ । न जापान जान पाएँ न केहि पैसा फिर्ता ! जे होस् अव आशावादी बन्नुको बिकल्प
छैन भनेर पर्खिरहेको थिएँ यहि बिचमा फेरि हिजोबाट नयाँ समाचार आएको छ । कि अव
जापानले नेपाल, भारत र पाकिस्तानबाट कसैलाई पनि जापान जान
नदिने रे !
ठूलो भाग हातपार्छु भन्दा, हातमा भएको सबै कुरा गुमाएँ । यो बिचमा कति मानसिक तनाव सहेको छु, त्यो कि मलाई थाह छ कि म जस्तै जापानको सपना देखेर अहिले नेपालमा बेरोजगार भएर
बस्नुपरेकाहरुलाई थाह छ । बस्नलाई त केहि समस्या थिएन, जन्मेको देश हो, गाउँमा भएपनि घर छ, धेरथोर खतबारी छन् काम गरौँला खाउँला , तर त्यो ३६ प्रतिशतवाल ऋण
कहिले र कसरी तिर्ने होला !#

Comments
Post a Comment