जापानमा बालबालिका हुर्काउनै गाह्रो !

 



टोकियो, जापान ।

जापानमा ६० प्रतिशतशभन्दा धेरै जापानीहरुलाई छोराछोरी हुर्काउन गाह्रो भइरहेको छ । हालै भएको एक सरकारी सर्वेक्षणले यस्तो देखाएको हो ।

यसले अन्य देशको तुलनामा जापानमा बालबालिका हुर्काउन उपलब्ध टेवा अपर्याप्त छ भन्ने धारणा उजागर गरेको छ । स्वीडेन,  फ्रान्स र जर्मनीमा भने उच्च बहुमतले बालिबालिका हुर्काउन सहज छ भन्ने बताएका छन् ।

सर्वेक्षण जापानको मन्त्रीपरिषद्को कार्यालयले गत अक्टोबरदेखि जनवरीको बीचमा गरेको हो । यसमा जापानबाट २ हजार ५०० सहभागी गराइएको थियो । यसमध्ये ३८ दशमलव ३ प्रतिशत चाँहि जापानमा बालबालिका हुर्काउन सहज रहेको बताएका छन् ।

यस्तो बताउनेको संख्या स्वीडेनमा ९७ दशमलव १ प्रतिशत फ्रान्समा ८२ प्रतिशत र जर्मनीमा ७७ प्रतिशत रहेका छन् । यी देशहरुबाट भने सर्वेक्षणमा हजार – हजार जना सहभागी गराइएको थियो । बालबालिका जन्माउन र हुर्काउन किन सहज छ भन्ने लाग्यो भनेर सोधिएको प्रश्नमा जापानी उत्तरदाताहरुले भने आफ्नो समुदायमा आफूहरुले सहज महसुस गरेको अभिव्यक्ति दिएका छन् ।

फ्रान्स र जर्मनीमा धेरैजसो उत्तरदाताले गर्भधारणदेखि बच्चाको जन्मसम्मै स्वास्थ्य सेवा सन्तोषजनक रहेको र उल्लेख्य शिशु हेरचाह टेवा रहेको बताए । स्वीडेनमा भने शैक्षिक खर्च कम रहेको तर्फ उल्लेख गरे ।

यस्तो बताउने जापानीहरुको संख्या निकै कम रहेको छ । प्रेमिल सम्बन्धबारे सोधिएको प्रश्नमा जापानमा ४० दशमलव ४ प्रतिशत उत्तरदाताले अरुले चासो देखए मात्रै डेटिङमा जानेबारे विचार गर्ने बताए । अन्य देशको तुलनामा यस्तो निस्कृय जवाफ दिनेको संख्या जापानमा धेरै छ । जापानमा १९ दशमलव ४ प्रतिशतले प्रेमिल सम्बन्धलाई पट्यारलाग्दो देखेका छन् ।

सरकारले सर्वेक्षणको नतिजालाई जापानको घट्दो जन्मदर नियन्त्रण गर्ने उपायहरुसम्बन्धी वार्षिक स्वेत पत्रमा उल्लेख गर्ने सरकारको योजना छ । यो स्वेतपत्रलाई प्रधानमन्त्री योशिहिदे सुगा नेतृत्वको मन्त्रीपरिषद्ले जुनमा अनुमोदन गर्ने अपेक्षा गरिएको छ । हरेक पाँच – पाँच वर्षमा मन्त्रपरिषद्को कार्यालयले घट्दो जन्मदरबारे अन्तरराष्ट्रिय सर्वेक्षण गर्ने गरेको छ ।

 



Comments