टोकियो ।
म्यानमारमा जारी सैन्य
कारवाहीलाई मध्यनजर गर्दै जापान आप्रवासन अधिकारीहरुले म्यानमारका नागरिकहरुलाई
देश निकाला नगर्ने भएका छन् । भिषा अवधि समाप्ति तथा अन्य कुनैपनि कारणले जापान
छोड्नुपर्ने अवस्था रहेको भएपनि उनिहरुलाई भिषा थप सहित काम गर्ने सुविधा दिइने
भएको छ ।
यसको लागि जापान
अध्यागमनले म्यानमारका नागरिकहरुको भिषा एक बर्षसम्म थप गरिदिने निर्णय गरेको छ ।
जापान आप्रवासन एजेन्सीले म्यानमारीहरुको लागि आपतकालिन उपाय अपनाउँदै जापानमै रहन
चाहनेहरुको भिषा अवधि एक बर्ष थप गर्ने घोषणा गरेको हो ।यो उपाय अनुसार हाल
जापानमै रहेका करिव ३५ हजार म्यानमारका नागरिकहरुले जापान छाड्नुपर्ने छैन ।
उनिहरुको लागि न्यूनतम ६ देखी एक बर्षसम्म जापानमै रहन पाउने अनुमति दिइनेछ । यसरी
भिषा प्राप्त गर्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ । आप्रवासन अधिकारीहरुका
अनुसार यो नियम मे २८ तारिख शुक्रबारबाट लागू गरिएको छ । यदि म्यानमारमा स्थिति
सुधार नभएमा यो उपाय बढाउन सकिने अधिकारीहरुले बताएका छन् । यो घोषणा अन्तर्गत
शरणार्थी आवेदन दिएका बिदेशीहरु मध्ये म्यानमारीहरुलाई प्राथमिकता दिइने भएको छ ।
अर्थात् शरणार्थीको दर्जा स्विकृत गरिनेमा म्यानमारिहरुलाई प्राथमिकतामा राखेर
जापानमा बस्न पाउने निवास दर्जा दिइनेछ ।
सैद्धान्तिक रुपमा अधिकारीहरुले
करिव ६०० म्यानमारिहरुलाई जापानमै रहने अनुमति दिने भएका छन् । जो भिषा अवधि
समाप्तिपछि हाल म्यानमारमा जारी सैन्य कारवाहीका कारण रोकिन पुगेका छन्
।अधिकारीहरुका अनुसार गम्भिर अपराधमा मुछिएकाहरुलाई यो सुविधा उपलब्ध हुनेछैन, यद्यपी उनिहरुलाई तत्काल म्यानमार फिर्ता भने पठाईने छैन ।एजेन्सीका अनुसार
टोकियो स्थित म्यानमार दूतावासका दुई म्यानमारी अधिकारीहरुको जापान रहने बैधता पनि
थप गरिएको छ । जसलाई म्यानमारको सेनाले फिर्ता बोलाउँदा नआएको भन्दै उनिहरुको
पासपोर्ट रद्द गरिदिएको घोषणा गरेको थियो ।

Comments
Post a Comment