दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली
प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको
इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप
श्रेष्ठले उक्त रकम भेट्टाएका थिए ।
इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा
उक्त रकम भेटिएको हो । रकममध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम
बुझाएर आफ्नो इमान्दारी देखाएका हुन् ।
सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ–९ भिसा लिई कामदारका रूपमा प्रवेश
गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा
बसोबास गरिरहेका छन् । उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श
केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन् ।
रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया उनले
दिए । अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उनले
बताए ।
कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा
प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर
सजाय हुनसक्ने व्यवस्था छ ।

Comments
Post a Comment