अमेरिकाबाट जापान यात्रामा नजान दियाे चेतावनी ,

 



टोकियो, जापान ।

एसियाली मुलुकमा कोरोना भाइरस अवस्था गम्भिर बन्दै गएको जनाउँदै अमेरिकी विदेश विभागले सोमबार अमेरिकी नागरिकलाई जापानको यात्रा नगर्न चेतावनी दिएको छ ।

विभागले जापानमा सतर्कता स्तर ४ मा पुर्याएको छ । यो कुनैपनि देश भ्रमण नगर्न भन्दै जारी गरिने सतर्कता स्तरको सब भन्दा माथि हो । यसको अर्थ जापान यात्रा बन्द गर भन्नु हो । अमेरिकाको यो कदम टोकियो ओलम्पिक शुरू हुनु भन्दा दुई महिना अघि आएको छ ।

अमेरिकाले बिदेश यात्राको समीक्षा गर्दै रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रहरूले जापानको बारेमा आफ्नो विश्लेषण अपडेट गरेर 'जापानमा अहिलेको अवस्थाको कारण पूर्ण रूपमा खोप लगाएका यात्रीहरूमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट सर्ने र फैलाउने जोखिम हुन सक्छ । त्यसैले सबैले जापान यात्रा बाट अलग रहनुहोस् ।'

अमेरिकाले यदि जापान जानुपर्ने अति महत्वपूर्ण काम भएमा यात्रा पूर्व कोरोना भाइरस बिरुद्धको दुवै मात्रा खोप लगाउन भनेको छ ।

गत अप्रिलमा अमेरिकी स्वास्थ्य विभागले बिदेश यात्रा जोखिमको स्तर १५० देशको लागि ४ लेभलमा पुर्याएको थियो । जसमा बेलायत, फ्रान्स, जर्मनी लगायत देशहरु थप गरिएको थियो । यद्यपी यसअघि जापान खतराको तेस्रो स्तरमा मात्र थियो । यस अन्तर्गत अमेरिकीहरुलाई जापान यात्रा जोखिमपूर्ण रहेकाले पुर्नविचार गर्न मात्र आग्रह गरिएको थियो ।

यस गर्मीको टोकियो ओलम्पिक र पाराओलम्पिक आयोजना गर्ने कुरामा अमेरिकी राष्ट्रपति जो वाइडेनले जापानका प्रधानमन्त्री योशीहिदे सुगालाई आफ्नो समर्थन व्यक्त गरेका छन् । दुई नेताहरूले अप्रिलको मध्यमा वाशिंगटनमा भेटेपछि उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेका थिए ।

ग्रीष्मकालीन २०२० टोकियो ओलम्पिक र पाराओलम्पिक गत बर्ष स्थगित गरेर यस बर्षको लागि सारिएको छ । तर ओलम्पिक कमिटि र आयोजक जापानको प्रतिबद्धताका वावजुद ओलम्पिक सुरु हुन मात्र दुई महिना बाँकी रहँदा पनि ओलम्पिक आयोजना नहुने होकि भन्ने आशंका यथावत छ ।

 



Comments