काठमाण्डौ – यूएईमा काम
गर्दै आएका लोकेश मुडभरीले छुट्टीमा घर फर्किनको लागि टिकट काटिसक्नुभएको थियो ।
भिसाको म्याद पनि सकिएको थियो । तर नेपाल सरकारले शुक्रबारदेखि नेपाल आउन
प्रतिबन्ध लगाएपछि उहाँ घर फर्कन पाउनुभएन ।
अब उहाँलाई भिसाको म्याद
सकिंदा अवैधानिक भएर बस्नुपर्ने डर एकातिर छ भने घर जानको लागि भनेर काटेको टिकट
व्यर्थै खेर जाने भयो भन्ने अर्को चिन्ता छ । उहाँ भन्नुहुन्छ, ‘मेरो भिसाको म्याद सकिएर घर जानको लागि टिकट काटिसकेको थिएँ, तर सरकारको यो निर्णयले मलाई त समस्यामा पारेको छ ।’
जसलाई भिसाको समस्या छैन, कम्पनीले काम दिन्छ र काम नदिए पनि तलब दिन्छ उनीहरुको लागि सरकारको यो निर्णय
ठिकै हो । तर भिसाको म्याद सकिएका र किनेको टिकट पनि झोलामा राखेर ओभरस्टेको
जरिबाना तिर्दै बस्नुपर्नेहरुलाई यो निर्णयले अन्याय गरेको लोकेश बताउनुहुन्छ ।
आफैले पठाएको
रेमिट्यान्सबाट देशको अर्थतन्त्र धाने पनि आफूहरु संकटमा पर्दा सरकारले स्वदेश
फर्कन प्रतिबन्ध लगाएको भन्दै धेरैले सामाजिक सञ्जालमा यसैगरी आक्रोश पोखेका छन् ।
यूएईमा रहेका आशिस पाण्डेले आफू काम गर्ने रेस्टुरेन्ट नै बन्द भएपछि संकटमा परेको
बताउनुभयो ।
रेस्टुरेन्टको साहुले
अप्रिल १ तारिखसम्म बस्नको लागि कोठा दिएको भए पनि त्यसपछि कहाँ जाने, के गर्ने उहाँलाई केही थाहा छैन । उहाँ भन्नुहुन्छ, ‘घर जान हुन्थ्यो तर सरकारले नै बाटो छेकिसक्यो, साथीभाइको कोठामा गएर
बस्न जाउँ भने पनि अर्को कम्पनीको मान्छेलाई बस्न दिंदैन ।’
खाडीमा भिसा सकिएर
बसेकाहरुलाई त्यहाँको कानुनअनुसार कडा कारबाही हुन्छ । तर नेपाल फर्किन नपाउँदा
त्यहाँ रहेका धेरै नेपालीहरुको भिसाको म्याद सकिंदैछ । नेपाल फर्किन चाहे पनि कुनै
बाटो नभएपछि अवैधानिक भएर कसरी बस्ने भन्ने उनीहरुको चिन्ता छ ।
यूएईमा कार्यरत अरुण
श्रीमालीले दुई हप्ता पहिले नै आफू कार्यरत कम्पनीबाट राजीनामा दिनुभयो । आफ्नो
भिसा क्यान्सिल भइसकेकोले अब अवैधानिक भएर बस्नुपरेको भन्दै उहाँ त्रसित हुनुहुन्छ
। ‘कोरोनाको भन्दा बढी डर आफू अवैधानिक भएर बस्नुपर्दा लागेको छ’, उहाँ भन्नुहुन्छ, ‘अवैधानिक भएर बस्दाको जरिबाना तिर्नको लागि पनि
मसँग पैसा छैन, बरु सरकारले आउन दिएर एक महिनै क्वारेन्टाइनमा
बस भने पनि बस्छु ।’
मलेसियाबाट श्रीराम
गौतमको गुनासो पनि त्यस्तै छ । आफ्नो भिसा क्यान्सिल भएर नेपाल आउनै लाग्दा
सरकारको यस्तो निर्णयले आफूजस्तै हजारौंलाई मर्कामा पारेको श्रीराम बताउनुहुन्छ ।
उहाँे अप्रिल ४ तारिखमा घर आउने टिकट पक्का गरिसक्नुभएको थियो ।
‘तर अब यहाँ बस्न भिसा
पनि छैन, नेपाल आउन पनि पाइँदैन, यस्तो अवस्थामा के गर्नु
पर्ला ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।
आफू कार्यरत कम्पनीले काम
रोकेपछि के खाने र कसरी बस्ने अवस्थामा पुगेको बताउनुहुन्छ, त्यहाँ कार्यरत हिमाल कार्की । ‘कम्पनीले पाल्न सक्दैन, यहीँ बसिरहनको लागि हामीसँग पैसा छैन’, उहाँ भन्नुहुन्छ, ‘आफ्नो देशले प्रतिबन्ध लगाएपछि अब कतारमा यस्तो समस्या भोगिरहेका मजस्ता
हजारौंले कुन देशको सरकारलाई गुहार्ने ?’
नेपाली श्रमिक वर्षौँदेखि
खाडीलगायत विभिन्न देशमा काम गरिरहेका छन् । कम्पनीको छुट्टी नमिल्दा लामो समयदेखि
नेपाल फर्किन पाएका छैनन् । तर यही समयमा कम्पनीले पनि बिदा दिँदा यो अवसर ‘निल्नु
न ओकल्नु’ जस्तो भएको छ । बिदामा घर आउँ भने सरकारले प्रतिबन्ध लगाइसक्यो । उतै
बसौँ भने त्यति लामो समय केही नगरी कसरी बस्ने भन्ने धेरैको गुनासो छ ।
यूएईमा कार्यरत बिक्रम
दाहालको समस्या पनि यस्तै छ । अप्रिल ६ देखि कम्पनीले उहाँलाई छुट्टी दिएको छ । तर
सरकारले स्वदेश फर्किन नदिने भएपछि छुट्टी रद्द गरेर काम गर्छु भन्दा काम कम्पनीले
काम गर्न दिदैन ।
‘छुट्टी लिंदैन भन्दा
कम्पनीले मान्दैन, कि लोकल लिभ बस कि घर जा भन्छ, अब ४५ दिन को लोकल लिभ कसरी बस्न सकिन्छ ?’ बिक्रम आफ्नो पीडा
बताउनुहुन्छ । आफूसँगै कार्यरत साथीहरु कम्पनीको छुट्टीमा घर फर्किदा आफूले जान
नपाएकोमा उहाँलाई पीडाले पोल्छ ।
‘अरु देशले आफ्ना
नागरिकबाहेक अरु सबैलाई प्रतिबन्ध गर्छ, हाम्रो सरकार चाहिँ आफ्नै
देश फर्किन पनि दिंदैन’ उहाँ भन्नुहुन्छ, ‘यस्तो खाले मानसिक तनाब
दिने काम बन्द गर सरकार ।’
शुक्रबार रातिदेखि खाडीका
६ देश, मलेसिया,
इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै
देशबाट नेपाली लगायत कुनै पनि नागरिक नेपाल आउन पाउँदैनन् । सरकारको यो निर्णयले
नेपाल आउन ठिक्क परेका नेपाली कामदार सबैभन्दा बढी पीडामा छन् ।

Comments
Post a Comment