कठोर प्रबेश प्रतिबन्धले जापानको भिसा जारी ८७ प्रतिशतले घट्यो


 

Uploading: 671375 of 751883 bytes uploaded.


टोकियो, जापान ।

सन् २०२० मा जापानमा जारी भएको भिसाको संख्या ८७ प्रतिशतको कीर्तिमानी उच्च दरमा घटेको छ । यो कमी सन् १९९९ यताको तुलनायोग्य तथ्यांक उपलब्ध भएयताकै उच्च भएको विदेश मन्त्रालयले सोमबार बताएको हो ।

कोरोनो भाइरसको संक्रमण फैलिन नदिन प्रवेशमा लगाइएको प्रतिबन्ध, कठोर क्वारन्टिन नियम र आउनु अघि आउने बित्तिकै अनि आएपछि पनि परीक्षण गर्नुपर्ने व्यवस्थाका साथसाथै बारम्बार देखा परिरहेको संक्रमणको लहरले विदेशी आगन्तुकहरुको आगमन रोक्दा वा उनीहरुलाई आउन निरुत्साहित बनाउँदा जारी भिसाको संख्या घटेको मन्त्रालयका अधिकारीले बताएका छन् । जापानमा कोरोना भाइरसको संक्रामक प्रकार फैलिरहेकोले पनि मानिसहरु यात्रा गर्न अनिच्छुक भएको हुन सक्ने ती अधिकारीले बताए ।

मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार गत वर्ष करीब ११ लाख २० हजार भिसा जारी भएका छन् । सन् २०१९ मा ८२ लाख ८० हजार भिसा जारी भएका थिए । जारी भएका कूल भिसामा चीनको अनुपात करीब ५९ प्रतिशत अर्थात् ६ लाख ६२ हजार ४३७ रहेको छ । दोस्रो स्थानमा रहेको भियतनामका लागि ११ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७७ भिसा जारी भएको छ ।

फिलिपिन्सबाट आउने यात्रीहरुका लागि १ लाख ८७५ अर्थात् ९ प्रतिशत भिसा जारी भएको छ । इन्डोनेशियाका लागि ४९ हजार ८०० अर्थात् ५ प्रतिशत भिसा जारी भएको छ । जापानले अहिले सिद्धान्ततः नयाँ भिसा जारी रोकेको छ । गत वर्षको सोही अवधिको तुलनामा मार्चसम्मको १८ महीनामा लगातार जापानमा अन्तरराष्ट्रिय पयर्टकको संख्या घटेको छ ।

अप्रिलमा भने आगमन दर २ हजार ९०० ले बढेर १० हजार ९०० मा पुगेको जापान नेशनल टुरिज्म अर्गनाइजेशनले सार्वजनिक गरेको छुट्टै तथ्यांकले देखाएको छ । विशेष खालको अपवादको अवस्था भएर प्रवेशको अनुमति पाएर आउनेको संख्या बढेपछि सो वृद्धि भएको हो ।


Comments