टोकियो, जापान ।
टोकियो ओलम्पिक्सको
आयोजना पूर्व सो प्रतियोगितामा सहभागी हुने करीब ९५ प्रतिशत जापानी खेलाडीहरुलाई
खोप लगाएर भ्याइने अपेक्षा गरिएको छ । प्रतियोगिता शुरु हुन ५० दिनमात्रै बाँकी
रहेको बेलामा यस्तो अपेक्षा गरिएको छ ।
अन्य विकसित देशको
तुलनामा जापानमा कोरोना भाइरस विरोधी खोप अभियान सुस्त गतिमा अगाडि बढिरहेको बेलामा
जापान ओलम्पिक समिति ९जेओसी०का अध्यक्ष यासुहिरो यामाशिताले ९५ प्रतिशत जापानी
खेलाडीलाई खोप लगाइन योजना सार्वजनिक गरेका हुन् ।पछिल्लो समय जापानमा ओलम्पिक्स
रद्द वा स्थगित गर्नु पर्छ भन्नेको संख्या बढिरहेको छ ।
प्रतियोगितामा सहभागी
भएकोप्रति कुनै हिनताबोध नगर्न पनि यामाशिताले खेलाडीहरुलाई भनेका छन् ।
प्रतियोगिता सुरक्षित र भयरहित तवरले गर्न सकिनेमा उनले जोड दिएका छन् । जेओसीले
ओलम्पिकमा सहभागी हुने खेलाडी र अन्यलाई मंगलबारदेखि खोप लगाउन थालिसकेको छ ।
समूहका डाक्टरहरुले ६०० खेलाडीका साथमा हजार जना कोच र सहयोगी कर्मचारीहरुलाई
जुलाई २० भित्रमा खोपको दुबै मात्रा लगाइसक्ने बताइएको छ । यामाशिता आफैंले पनि
बिहिबार खोपको पहिलो मात्रा लगाएका छन् ।
खोप लगाउनेको संख्या
अपेक्षा गरिएभन्दा धेरैले बढेको उनले बताएका छन् । महामारी बिरुद्ध आफूहरुले थप
ठोस कदमहरु अपनाउन जरुरी भएको पनि उनले बताए । बिहिबार नै टोकियो ओलम्पिक आयोजक
समितिका अध्यक्ष सेइको हाशिमोतोले प्रतियोगिताको बेलामा विश्वभरबाट आउने
खेलाडीहरुको स्वास्थ्य जोगाउने वाचा गरेका छन् ।
गत वर्ष कोरोना भाइरसको
महामारीका कारण स्थगित भएको टोकियो ओलम्पिक्स यही जुलाई २३ मा हुँदैछ । टोकियो
ओलम्पिक्स र पारालिम्पिक्समा कूल करीब १५ हजार खेलाडीहरु सहभागी हुँदैछन् ।

Comments
Post a Comment