ओलम्पिकमा खटिने बस चालक, सुरक्षा गार्ड र करारका कामदारमाथि खोप प्राथमिकतामा बेवास्था

   




टोकियो ।

अहिले जापानमा खोप अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ । आगामी महीनादेखि शुरु हुन लागेको टोकियो ओलम्पिक्सलाई लक्षित गरेर खेलाडी, आयोजक समितिका सदस्य र स्वयम् सेवकहरुलाई पनि धमाधम खोप लगाउने काम भइरहेको छ । तर यस अभियानमा टोकियो ओलम्पिक्समा प्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका दशौं हजार मानिसहरु भने छुटेका छन् । प्रतियोगिता शुरु हुनु अघि तत्कालै बस चालक, सुरक्षा गार्ड र विशेषतः ओलम्पिक्सका करारका कामदारहरुलाई खोप लगाउने लक्षण कतै देखिएको छैन ।

 

टोकियो ओलम्पिक्स र पारालिम्पिक्सका आयोजकहरुलाई पनि यो समस्याबारे सूचित गरिएको छ । तर उनीहरुले कुनै समाधान दिएका छैनन् । प्रतियोगिता कोरोना भाइरसको संकटबाट सुरक्षित र भयरहित रुपमा हुन्छ भन्ने मात्रै बारम्बार दोहोर्याइरहेका छन् । गिफु प्रिफेक्चरमा २७ बस कम्पनीहरुले ओलम्पिक र पारालिम्पिकका लागि ७९ बस र २८० चालक पठाउने अपेक्षा गरिएको छ ।

 

लगभग सबै बस चालकहरुले कोरोना भाइरस विरोधी खोपको भौचर पाउन बाँकी भएको गिफु प्रिफेक्चर पर्यटन महासंघका अध्यक्ष योशिआकी किशिनोले जुन १८ मा प्रिफेक्चरल सरकारको कोरोना भाइरसको महामारीसम्बन्धी एक बैठकमा भनेका थिए । खोप प्रभावकारी हुन दुई पटक खोप लगाउनै पर्नेतर्फ औंल्याउँदै ओलम्पिक्सका लागि उनीहरुको खोप समयमा पूरा नहुने किशिनोले बताए ।

 

आफूले प्रिफेक्चरल अधिकारीहरुबाट मद्दत खोजिरहेको भएपनि अप्ठयारो समस्यामा परेको पनि उनले बताए । यो समस्या ओलम्पिक र पारालिम्पिकका टोकियो आयोजक समितिले समाधान गर्नु पर्नेमा उनले जोड दिएका छन् । तर समितिले अहिलेसम्म उनलाई अनुरोधबारे समीक्षा भइरहेको बाहेक कुनै पनि जवाफ दिएको छैन । गिफुका उप गभर्नर शो हिराकीले हतारमा करीब १३० बस चालकहरुलाई गिफु सरकारको बृहत खोप केन्द्रमा जुलाई ४ सम्ममा खोपको पहिलो मात्रा लगाइसक्ने निर्णय गरेकी छिन् ।

 

किन्की क्षेत्रको मेई प्रिफेक्चरका बस चालकहरुले पनि यस्तै खालको चुनौतीको सामना गरेका छन् । अन्यत्र पनि यस्तै समस्या छ । केहीले भने बस चालकहरुलाई अन्य कम्पनीको कार्यस्थलमा खोप लगाउने कार्यक्रम मार्फत खोप लगाउन दिने अपेक्षा गरेका छन् । ओलम्पिक र पारालिम्पिक शुरु हुनु अघि, भइरहेको समयमा र पछाडि करीब ६ लाख सुरक्षा गार्डहरुले काम गर्ने अपेक्षा गरिएको छ । केन्द्र सरकारलाई सुरक्षा सेवा संगठनले खोपका लागि सुरक्षा गार्डहरुलाई प्राथमिकता दिन भनेको छ । तर यस्तो भएको छैन । चिन्ता गर्नु पर्ने कुरा नभएको ओलम्पिक आयोजक समितिले जिकीर गर्दै आएको छ ।

 


Comments