टोकियो, जापान ।
जापानका प्रधानमन्त्री
योशिहिदे सुगाले टोकियो ओलम्पिक र पारालिम्पिकपछि आकस्मिक निर्वाचन बोलाउने भएका
छन् । यसले देश कोरोना भाइरसको संक्रमणको चौथो लहर नियन्त्रण गर्न संघर्ष रहेको
भएपनि प्रतियोगिताको आयोजना गर्ने उनको संकल्प उजागर गरेको छ ।
अपेक्षित उक्त निर्वाचन
अघि भने सरकारले नयाँ आर्थिक प्रोत्साहन कार्यक्रम ल्याउने विचार गरिरहेको भन्दै
आसाही पत्रिकाले सत्तारुढ दलका केही कार्यकारीहरुको भनाई उद्धृत गर्दै बिहिबार
समाचार छापेको हो । अहिलेको संसदीय सत्र जुन १६ मा समाप्त भएपछि सोलाई नलम्ब्याउने
विषयमा सुगाले बुधबार आफ्नो सत्तारुढ गठबन्धनका साझेदार दलका प्रमुखहरुसँगसहमति
गरेका पत्र–पत्रिकाहरुले बताएका छन् ।
यसको अर्थ जापानले पूरक
बजेट तयार पार्नेछ र तत्कालै कोरोना भाइरसको महामारीविरुद्ध लड्न सञ्चिति कोषमा
बाँकी रहेको ४० खर्ब येन (३६ अर्ब ५० करोड डलर) चलाउने आसाहीले बताएको छ ।
आफूहरुलाई पूरक बजेटको आवश्यकता टड्कारो भएको छ र संसद बन्द हुन लागेकोले यसलाई पारित
गर्न आफूहरुसँग समय भने नभएको सत्तारुढ दलका कानूननिर्माता शोजी निशिदाले गत हप्ता
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई भनेका थिए । तर अर्को स्टिमुलस प्याकेज र
पूरक बजेट ल्याउनेबारे पार्टीभित्र भने छलफल हुनु पर्ने उनको भनाइ छ । सुगाले
अहिले आफू महामारी नियन्त्रणमा केन्द्रीत रहने बताएका छन् ।
कोरोना भाइरसको संक्रमण
फैलिन नदिन कठोर उपायहरु अपनाएर जापानले टोकियो ओलम्पिक्स पनि गर्ने भएको छ ।
महामारी नियन्त्रण गर्न लगाइएको पछिल्लो आपतकालका कारण प्रभावित भएको
अर्थतन्त्रलाई टेवा दिन खर्च बढाउन सत्तारुढ दलका कानूननिर्माताहरुले सरकारसँग
आग्रह गरिरहेका छन् । सुस्त खोप अभियान अनि सर्वसाधारणहरुबाट ओलम्पिक्सको आयोजनाको
विरोधका कारण सुगा नेतृत्वको सरकारप्रतिको समर्थन घटिरहेको छ । यसले उनको सरकारको
भविष्यमाथिको अनिश्चय बढाएको छ ।

Comments
Post a Comment