डेल्टा भेरियन्ट र ओलम्पिक आयोजनाले नेपालबाट जापान प्रवेश केही महिना अनिश्चित

 



टोकियो, जापान ।

जापान प्रवेश प्रतिबन्ध यथावत रहँदा प्रवेश खुल्छकि भन्ने आशा गरिरहेकाहरुको लागि जापान पर्खाई लम्बिने भएको छ । किनभने जापानले हालसम्मकै उच्च संक्रामक भनिएको डेल्टा भेरियन्ट कोरोना भाइरस भेटिएको देशबाट जापान प्रवेशमा थप कडाई गर्ने भएको छ ।

टोकियो ओलम्पिकलाई लक्षित गरेर जापानले नयाँ कडाई गर्न लागेपनि यसबाट सर्वसाधारण नवप्रवेशिलाई पनि नियमले समेट्नेछ । यद्यपी जापानले नवप्रवेशिलाई हाल प्रवेश दिएको छैन । केवल जापानको दिर्घकालिन बसोबासको भिषा पाएकाहरुले मात्र जापान यात्राको छुट पाइरहेका छन् ।

यस्तो हुनेछ ओलम्पिकमा आउनेका लागि प्रवेश शर्त

जापानले उच्च संक्रामक कोरोना भाइरसको डेल्टा भेरियन्ट भेटिएका देशबाट आउने खेलाडी र अधिकारीहरुलाईलाई कडा नियम लागू गर्ने छ । यस्तो भेरियन्ट भेटिएको देशको सूचिमा नेपाल पनि छ । यस बाहेक ईण्डिया, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत अधिकाशं एशियाली देशहरु यो नियममा बाँधिने छन् ।

अत्यधिक संक्रामक डेल्टा कोरोना भाइरसबाट प्रभावित अन्य कडा परीक्षण र अन्य व्यक्तिको सम्पर्कमा आउन प्रतिबन्ध लगायतका नियमहरु समेटिएका छन् ।

टोकियो ओलम्पिक खेल जुलाई २३ देखि सुरु हुँदैछ । खेलका क्रममा संक्रमण फैलने चिन्ताको बीचमा यो कदम आएको हो । राजधानी टोकियोमा आपतकालको अवस्था हटाएको एक हप्ता पछि नै संक्रमण बृद्धि देखिन थालेको छ ।

नयाँ नियमानुसार जापानमा आउनु भन्दा पहिले खेलाडी र स्टाफको एक साता दैनिक नियमित कोभिड-१९ परीक्षण गर्नुपर्नेछ । त्यस समयमा सबै जना छुट्टाछुट्टै एक्लै बस्नुपर्नेछ । मुख्य क्याबिनेट सचिव कात्सुनोबु कातोले पत्रकार सम्मेलनमा भने 'जापान आईपुगेपछि पनि उनिहरुलाई एक अर्को व्यक्तिसँग सम्पर्कमा आउनबाट तीनदिन सम्म प्रतिबन्धित गरिनेछ ।'

'हामी आवश्यक सीमानामा कडा कदम चाल्नेछौं र पोषण, तालिम सुविधाका क्षेत्रमा खेलाडीहरुसँग निष्पक्ष व्यवहार गर्ने कुराको सुनिश्चितता गर्नेछौं' कातोले भने, 'सरकारले अन्तर्राष्ट्रिय ओलम्पिक समिति र खेलकुद आयोजक समितिसँग नियमहरुमा अन्तिम रुप दिन कुराकानी गरिरहेको छ।'

सरकारको शीर्ष कोरोना भाइरस सल्लाहकार शिगेरु ओमी र अन्य संक्रामक रोग विशेषज्ञहरूले ओलम्पिकको समयमा डेल्टा प्रकारको कोरोना फैलनसक्ने चेतावनी दिएका छन् । जुन ईण्डियामा पहिलो पटक पत्ता लागेको थियो । विज्ञहरुले 'डेल्टा भेरियन्ट' १.८ प्रतिशत बढी छिटो संक्रमण फैलाउनसक्ने क्षमताको भएको बताएका छन् । साथै संक्रमण प्रवाहमा बृद्धि गर्नुका साथै जोखिमको स्तरपनि बढी हुने विश्वास गरिएको छ ।

आइतबार मात्र प्रधानमन्त्री योशीहिदे सुगाले टोकियोको हानेदा एयरपोर्टको भ्रमण गरेका थिए र जापानको सीमा उपायहरूबारे जानकारी लिएका थिए । जुन १९ मा युगाण्डाबाट आएका ओलम्पिक प्रतिनिधिमण्डलका एक सदस्यमा टोकियोको नारिता एयरपोर्टमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि गरिएको थियो ।

उक्त घटनापछि बाँकी टोलीलाई चार्टर्ड बसबाट ओसाका प्रान्तको इजुमिसानो ओसाका लगिएको थियो । जहाँ अर्को एक सदस्य पनि संक्रमित भेटिएका थिए ।

ओलम्पिक आयोजक समितिका पदाधिकारीहरूले ती घटनाहरुको परिप्रेक्षमा कडा कोभिड-१९ दिशानिर्देश आवश्यक भएको बताएका थिए ।

टोकियोमा कोरोना भाइरसका बिरामीहरु भर्खरै बढेकोमा प्रधानमन्त्री सुगाले सावधानी अपनाईने बताएका छन् । सुगाले 'एन्टि भाइरस' उपायहरू कार्यान्वयन जारी राख्नुपर्ने र अत्यधिक सतर्क रहने बताएका छन् । पत्रकारहरुले सोधेको एक प्रश्नमा आवश्यक भएमा चाँडै थप कदम चाल्ने प्रधानमन्त्री सुगाले बताएका छन् ।

त्यस्तो कडा कदमहरुमा आपतकालिन अवस्थाको घोषणा वा अर्ध आपतकालिन अन्तर्गत ब्यापार गतिविधिमा प्रतिबन्ध विस्तार गर्ने विषय हुनसक्नेछ ।

जापानका स्वास्थ्यमन्त्री तामुराले समेत टोकियोमा छिट्टै आपतकाल लाग्नसक्ने बताएका छन् ।

जापानी संचारमाध्यमहरुले जारी कोरोना संक्रमण बृद्धिको अवस्थालाई मध्यनजर गर्दै आगामी साताबाट टोकियोमा आपतकाल लाग्नसक्ने अनुमान गरेका छन् ।

जापान प्रवेश कम्तिमा दुई महिना खुल्ने सम्भावना शुन्य

जापानले जुलाई २३ तारिखदेखी ओलम्पिक सुरु गर्दैछ । ओलम्पिक खेल अगष्ट ८ तारिखसम्म चल्नेछ । अर्थात् आगामी महिना ओलम्पिक समय भएकाले जापान प्रवेश खुल्ने आशा कुनैपनि मानेमा गर्न सकिने अवस्था छैन ।

ओलम्पिक पछिपनि लगत्तै अगष्ट २४ देखी सेप्टेम्बर ५ सम्म २०२० टोकियो पाराओलम्पिक आयोजना हुनेछ ।

यो तालिका अनुसार पनि जापानले हाल नेपाल लगायत देशमाथि लगाएको प्रवेश प्रतिबन्ध खुकुलो बनाउने वा खुलाउने अवस्था देखिंदैन ।

यसरी समग्रमा ओलम्पिक र पाराओलम्पिक खेल सम्पन्न हुन अब पुरा २ महिना भन्दा बढी समय बाँकी छ ।

यो अवधिमा जापानले देशभित्र खोप कार्यक्रमलाई तिब्रता त दिनेछ तर संक्रमणको लहर फेरी चोथौ पटक देशभर फैलने जोखिम उच्च छ । किनभने हालैका दिनमा फेरी बढ्न थालेको संक्रमण दरले यसलाई संकेत गरिसकेको छ ।

यो अवस्थामा जापानले ओलम्पिक र पाराओलम्पिकलाई जोखिम पर्नेगरि, ओलम्पिकमा आएका आगन्तुककै भारलाई व्यवस्थापन गर्न कठिनाई भइरहँदा जापान प्रवेशको पर्खाईमा रहेकाहरुलाई स्वागत गर्ला भन्ने आशा गर्नुनै बेकार हुनेछ ।

जापान प्रवेशको दुःखद पर्खाई बर्षदिन देखी लम्बिरहँदा ओलम्पिक तथा पाराओलम्पिक सम्पन्न भएपछि भने जापान प्रवेशमा लचकता देखिन थाल्नेछ । किनभने अबको तीन महिनाको अवधिमा जापानले आफ्ना ६० प्रतिशत बढी नागरिकलाई खोप लगाईसक्नेछ भने नेपालमा पनि खोप प्राप्त गर्नेको प्रतिशत केही बढ्नेछ ।

जसले गर्दा कोरोना संक्रमणको जोखिम न्यून हुँदै जाने सम्भावनाका कारण जापानले त्यतिखेर नेपालबाट जापान प्रवेश खुल्ला गर्न थाल्ने आशा गर्न सकिन्छ । तर सन् २०२० मार्च अघिको जस्तो सामान्य प्रवेश नभई कडा प्रावधानहरु पालना गर्दै सशर्त प्रवेश पाईने झिनो आशा देखिन्छ ।



Comments