आज जेआर यामानोते लाईनको १० प्रतिशत रेल सेवा अवरुद्ध हुनसक्ने

 



टोकियो, जापान ।

जुन २० तारिख साँझ विद्युत अवरुद्ध हुँदा आएको समस्याका कारण जेआर यामानोते लाईनले २१ तारिख सोमबार करिव १० प्रतिशत रेल संचालन घट्ने जनाएको छ ।

आईतबार साँझ ५ बजेर ३० मिनेटमा विद्युत् संचालनमा समस्या आउँदा जेआर ईष्ट 'सब स्टेशन' सिबुया-कु टोकियो र अन्य ६ वटा महानगर भित्रका रेल सेवा घण्टौं अवरुद्ध हुन पुगेको थियो । यसमा साईक्यो लाईन, चुओ लाईन लगायत रेल सेवाका ४ देखी २० वटासम्म रेल रोकिन पुगेका थिए । रात १० बजेपछि मात्र सबै रेलसेवा पूर्ववत् अवस्थामा संचालन भएका थिए । यो अवधिमा कयौं रेलमा यात्रुहरु करिव एकघण्टासम्म रेलभित्रै रहन बाध्य भएका थिए भने रेल 'स्टेसन'हरुमा यात्रुहरुको भिड लागेको थियो । रेल संचालनको अनिश्चितताका कारण रेल 'स्टेशन' अगाडी बैकल्पिक रुपमा बस सहित ट्याक्सि सेवा प्रयोग गर्नेहरुको भिड देखिन्थ्यो ।

 

जेआर ईष्टले जनाए अनुसार विद्युत् प्रवाहमा देखिएको समस्याका कारण सोमबार हुने रेल संचालन बिहानैबाट १० प्रतिशतसम्म अवरोध हुन सक्नेछ । यसको अर्थ साविकको समय भन्दा ढिलो गरि रेलहरु चल्नेछन् । यात्रा पूर्व रेल संचालनको समय तालिका आधिकारिक वेवसाईटमा हेर्न जेआर ईष्टले यात्रुहरुमा अनुरोध गरेको छ ।

अझैसम्म विद्युत् संचालनमा आएको अवरोधको स्पष्ट कारण पत्ता लाग्न नसकेको जनाउँदै जेआर ईष्टले 'सेन्सर'ले 'सब-स्टेसन'मा विद्युत् प्रसारण गर्न असमर्थ भएको कारण समस्या देखिएको र अनुसन्धान जारी रहेको जनाएको छ ।

 



Comments