जापानमा सोमबारबाट व्यवसायिक प्रतिष्ठानहरुमा खोप सुरु

 



टोकियो, जापान ।

ठूला व्यवसायिक कम्पनीहरु लक्षित गरेर जापानमा जुन २१ तारिखबाट कोभिड-१९ भाइरस खोप लगाउन सुरुवात गरिएको छ ।

कम्पनीहरू र विश्वविद्यालयहरुमा नयाँ कोरोना भाइरस बिरुद्धको खोप सोमबारबाट सुरु गरिएको हो । जापान सरकारले आगामी अक्टोबर देखी नोभेम्वर महिनासम्ममा खोप लगाउन चाहनेहरुलाई उपलब्ध गराईसक्ने लक्ष्य अनुरुप व्यवसायिक प्रतिष्ठानहरुमा खोप लगाउन सुरुवात गरेको हो ।

खोप कार्यक्रमलाई तिब्रता दिने क्रममा कम्पनीहरु र विश्वविद्यालयहरुमा सोमबारबाट सुरु भएपनि केही बिमान कम्पनीहरुले गत साताबाट नै आफ्ना कर्मचारीहरुलाई कार्यस्थलमा खोप लगाउन सुरुवात गरिसकेका छन् ।

सरकारका अनुसार थप गरिएका सहित देशका २६० बढी स्थलमा नियमित खोप कार्यक्रम जारी रहनेछ । यो संख्या ३ हजार बढी पुर्‍याउने लक्ष्य सरकारको छ ।

कार्यस्थल खोप कार्यक्रम अन्तर्गत कर्मचारीहरू, तिनीहरूका परिवारहरू र व्यापार साझेदारहरूको साथसाथै केही कम्पनीहरूले कार्यक्रमस्थल वरिपरिका बासिन्दाहरूलाई पनि खोप उपलब्ध गराउने भएका छन् ।

सरकारले साना र मध्यम आकारका उद्यमहरू र उद्योग समूहहरूलाई पनि खोप छिट्टै उपलब्ध गराउने निर्णय गरेको छ । ताकि उनीहरूले आफ्नो कार्यस्थलहरूमै खोप लगाउन सकुन् । यदि साना कम्पनीहरु मिलेर एकैस्थानमा खोप संचालन गरेमा खोप स्थान उपलब्ध गराउन लाग्ने लागतको केही आर्थिक सहयोग समेत सरकारले उपलब्ध गराउने जनाएको छ ।

सरकारले खोप नलगाएको व्यक्तिमाथि भेदभाव वा दबाव नपरोस् भनेर अक्टोबर देखी ढिलोमा नोभेम्वर सम्म खोप लगाउन ईच्छुक सबैलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । सोही अनुसार सामुहिक रुपमा खोप कार्यक्रम चलाउन सक्ने स्थानहरु जस्तै विद्यालय, कम्पनी, व्यवसायिक प्रतिष्ठानहरुमा खोप कार्यक्रमलाई तिब्रता दिन थालेको छ ।



Comments