टोकियो, जापान ।
विश्वभर कोरोना भाइरस
विरोधी खोप लगाउने मानिसको संख्या बढिरहेको छ र कोरोना भाइरस संक्रमितको संख्यामा
पनि कमी आइरहेको छ । यस्तोमा जापानले पनि न्यूयोर्क समेत केही अमेरिकी राज्यका
साथै यूरोप र मध्य पूर्वबाट आउने यात्रीका लागि क्वारन्टिनका उपायहरु खुकुलो बनाउन
लागेको छ ।
यी परिवर्तनहरु
बिहिबारदेखि लागू हुनेछ । अहिले कोरोना भाइरसको डेल्टा भ्यारिएन्टको संक्रमण
बढिरहेका क्षेत्रहरुबाट आउने यात्रीको लागि भने क्वारन्टिनका उपायहरु कठोर पारिएको
छ । सो भ्यारिएन्ट पहिलो पटक भारतमा देखा परेको थियो ।
बिहिबार देखि चेक
गणतन्त्र, हंगेरी, लेबनन र ६ अमेरिकी राज्य (कनेक्टिकट, इओवा, मिचिगन, न्यूयोर्क, र्योदे टापु र टेनेस्सी)बाट आउने यात्रीहरुले
जापान छिर्ने बित्तिकै सरकारले निर्दिष्ट गरेको स्थानमा क्वारन्टिन बस्नु पर्ने
छैन । अहिलेसम्म भने यी क्षेत्रहरुबाट आएका मानिसहरुले तीन दिन क्वारन्टिन
अधिकारीहरुले तोकेको स्थलमा बस्नु पर्नेछ अनि बसाईको अन्तिम दिनमा संक्रमण परीक्षण
गर्नु पर्नेछ ।
पछिल्लो परिवर्तनको अर्थ
यी क्षेत्रहरुबाट आउने यात्रीहरुले १४ दिनको क्वारन्टिन अवधि घरमा वा आफूले रोजेको
अन्य स्थानमा बिताउन पाउनेछन् । यद्यपि, उनीहरुले आफ्नो स्वास्थ्य अवस्था र कहाँ छु भन्नेबारे भने जानकारी दिइरहनु
पर्नेछ । दक्षिण अफ्रिका र अमेरिकाको अर्कान्साससमेतका नौ क्षेत्रलाई भने उच्च
जोखिम युक्त क्षेत्रको सूचिमा राखिएको छ ।
बिहिबारदेखि यी
क्षेत्रहरुबाट आउने यात्रीहरुले तीन दिन सरकारले निर्दिष्ट गरेको ठाउँमा बस्नु
पर्नेछ अनि जापान छिरेपछि दुई पटक परीक्षण गराउनु पर्नेछ । यस सूचीमा राखिएका अन्य
देशमा ब्राजिलको पाराना राज्य, इष्टोनिया,
क्रिगस्तान, पेरु, पोर्चुगल,
स्वीडेन र संयुक्त अरब इमिरेट्स छन् ।
सरकारले तोकेको स्थलमा
क्वारन्टिन बस्नु पर्ने नियम हाल २९ देश तथा क्षेत्रमा लागू छ । यद्यपि, बसाईको अवधि र परीक्षणका क्रममा फेला परेका
संक्रमितको संख्या भने जापान आउनु अघि उनीहरु कहाँ गएका थिए सो आधारमा फरक फरक छ ।
सबैभन्दा कठोर खालको नियम भारत र नेपाललगायत यसका छिमेकी देशहरुबाट आउने यात्रीमा
लाग्नेछ । यसमा विदेशी नागरिकहरुलाई पूर्ण रुपमा प्रवेश प्रतिबन्ध छ भने जापानी
नागरिकहरु भने सरकारले निर्दिष्ट गरेको ठाँउमा १० दिनसम्म क्वारन्टिनमा बस्नु
पर्नेछ ।
बसोबासको लागत र खानपिनको
खर्च सरकारले बेहोरिदिनेछ । खोप लगाएको भएपनि यी देशबाट आउने यात्रीहरुले आउने
बित्तिकै कोरोना भाइरसको परीक्षण गर्नु पर्नेछ अनि देशमा प्रवेश गरेको १४ दिनसम्म
आफूहरुलाई सेल्फ आइसोलेट गर्नु पर्नेछ ।

Comments
Post a Comment