टोकियो क्षेत्रमा ईण्डियन कोरोना भेरियन्टको प्रकोप, देशभर महामारीको रुपमा फैलंदो

 




टोकियो, जापान ।

ईण्डियामा पुष्टि भएको उच्च संक्रामक कोरोना भाइरसको डेल्टा स्ट्रेन राजधानी टोकियो र आसपासको क्षेत्रमा महामारीको रुपमा फैलन थालेको पुष्टि भएको छ ।

जापानको राष्ट्रिय सरुवा रोग निकाय तथा विज्ञहरुको अनुमान अनुसार कान्तो क्षेत्रमा पहिलेनै ३० प्रतिशत कोरोना संक्रमितमा यो भाइरस संक्रमण भइसकेको छ । विज्ञहरुले जुलाई महिनाको अन्त्यसम्ममा यो संख्या दोब्बरले बढेर उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छन् ।

आगामी महिना डेल्टा भेरियन्ट कोरोना संक्रमितले पुरानो कोरोना संक्रमणलाई विस्थापन गर्ने अनुमान गरिएको छ । जुलाई ७ तारिख स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको एक विशेषज्ञ बैठकमा संक्रामक रोगहरूको राष्ट्रिय संस्थानले नयाँ तथ्यांक प्रस्तुत गरेको हो ।

म्युटेन्ट स्क्रिनिगं टेष्टमा नयाँ कोरोना भाइरस सकारात्मक नमूनाहरुमा कति जनामा उत्परिवर्तित भाइरस संक्रमण छ भनेर चेकजाँच गर्दा निजी परीक्षण कम्पनीहरु मध्ये ३४ प्रतिशतमा डेल्टा कोरोना भाइरस जुन ईण्डियन म्युटेन्टको रुपमा चिनिएको छ उक्त संक्रमण भेटिएको छ ।

भविष्यमा यो अझ बढ्ने अपेक्षा गरिएको छ, र संक्रामक रोगहरूको राष्ट्रिय संस्थानको अनुमान गरेको छ कि यो महिनाको अन्त्यसम्ममा यो ७० प्रतिशत भन्दा बढी पुग्नेछ र अर्को महिनाको अन्तमा लगभग पुरानो भाइरसलाई प्रतिस्थापन गर्नेछ ।

अर्कोतर्फ, कान्साई क्षेत्रको ओसाका, क्योतो र ह्योगो प्रान्तहरूमा, यो हालसम्म कूल संक्रमितको को १२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यद्यपि यो संख्या अझै थोरै भए पनि विस्तार बढिरहेको छ ।

संक्रामक भाइरसका विज्ञहरुको विश्लेषणमा यो म्युटेन्ट भाइरस बेलायतमा फेला परेको म्युटेन्ट भाइरसको अल्फा स्ट्रेन्स भन्दा १।४ गुणा बढी फैलिने क्षमता राख्छ । त्यसैभएर देशभर पछिल्लो महिना दिन यता घट्दै गएको कोरोना संक्रमितको संख्या दुई साता यता पुन उच्चबृद्धि देखिन थालेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको एक विशेषज्ञ बैठकले भनेको छ कि 'डेल्टा संक्रमणका लागि राष्ट्रव्यापी अनुगमन प्रणालीलाई सुदृढ पार्नु आवश्यक छ र पूर्ण निरीक्षण गरेर सम्भव भएसम्म संक्रमणको प्रसारलाई दबाउन आवश्यक छ ।'

यदि हालकै गतिमा ईण्डियन म्युटेन्ट भाइरस फैलनेक्रम जारी रहेमा जुलाईको अन्त्यसम्ममा यसले देशभर यसअघिको जस्तै उच्च संक्रमणको अवस्थामा पुर्याएर देशव्यापी आपतकाल निम्त्याउने सम्भावना रहेको छ ।

संक्रमण बृद्धिकै क्रममा जुलाई १० तारिख शनिवार राजधानी टोकियोमा ९५० जना नयाँ कोरोनाका बिरामी पुष्टि हुँदा देशभर २४ सय ५८ जना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा ११ जना कोरोनाका बिरामीको निधन भएको तथ्यांकमा उल्लेख छ ।


Comments