नेपाली ओलम्पिक खेलाडीको जापानमा भव्य स्वागत

 




तोकुशिमा, जापान ।

नेपाली ओलम्पिक खेलाडीहरुको पहिलो टोली जापान आइपुगेको छ । पौडी तर्फका खेलाडी र प्रशिक्षकको टोली नारिता बिमानस्थल हुँदै तोकुशिमा प्रान्त आईपुग्दा यहाँको स्थानिय सरकारले भव्य स्वागत गरेको छ ।

नारिता बिमानस्थलमा कोरोना भाइरस परीक्षण गराएर नकारात्मक नतिजापछि दुई खेलाडी र प्रशिक्षक आन्तरिक बिमानस्थल तोकुशिमा आओदोरीमा जुलाई ७ तारिख अपरान्ह ओर्लिएको थियो ।

बिमानस्थलबाट बाहिरिंदा नेपाली खेलाडीहरुलाई तोकुशिमा प्रान्तमा स्वागत छ, मेहनत गर्नुहोस् लेखिएको व्यानर सहित नेपाली पोशाकमा सजिएका जापानीहरुले ताली बजाएर स्वागत गरेका थिए ।

तोकुशिमा नेपाल फ्रेण्डसिप एशोसिएसन जस्ता संस्थाले व्यानर सहित स्वागतमा सहभागीता जनाएका थिए भने जापानी बालबालिकाहरुले नेपाली बाजा खैंचडी हातमा लिएर बजाएका थिए भने जापानी पुरुषहरु नेपाली ढाका टोपिमा सजिएर उभिएका थिए । बालबालिकाहरु नेपाली साडि र जापानी पोशाकमा सजिएको देख्न सकिन्थ्यो । साथमा नेपाल र जापानको झण्डा हल्लाएर उनिहरुले स्वागत गरेका थिए ।

टोकियो ओलम्पिकमा भाग लिन नेपाली पौडी खेलाडी गारिका सिंह र एलेक्जेन्डर शाह सहित प्रशिक्षक शंकर कार्की जापान आईपुगेका हुन् ।

नेपाली खेलाडी शाहले १०० मिटर फ्रि स्टाईल र गौरिकाले १०० मिटर फ्रि स्टाईलमा प्रतिस्पर्धा गर्दैछन् । तोकुशिमामा रहँदा खेलाडीद्धयको प्रशिक्षण सहित सम्पूर्ण व्यवस्था मुचुमी पार्क कुरोमोतोमा रहेको मुचुमि स्विमिगंमा हुने प्रान्त सरकारले व्यवस्था गरेको छ ।

गौरिकाले २०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ४ स्वर्ण जितेकी थिइन् ।

गौरिकाले १३औं सागमा १०० मिटर फ्रिस्टायलमा ५८.१३ सेकेण्डमा दूरी पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । यस्तै एलेक्स शाहले १३ औ सागमै ५४.१३ सेकेण्डको कीर्तिमान बनाएका थिए । गौरिकाले २०१६ मा भएको रियो ओलम्पिकमा भने १०० मिटर ब्यास्ट्रोकमा प्रतिस्पर्धा गरेकी थिइन् । १३ वर्षमै ओलम्पिक खेलेकी गौरिका रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

जापान प्रस्थान अधि खेलाडीद्धय र प्रशिक्षकले कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेको बताईएको छ ।

 


Comments