जापानमा ११८,००० कोरोना संक्रमित घरमै उपचाररत

 





टोकियो, जापान ।

गएको साता हालसम्मकै उच्च २० हजार बढी कोरोनाका संक्रमित घरमा उपचार गराउनुपर्ने अवस्थामा पुग्दा जापानमा यस्ता बिरामीको संख्या १ लाख पार गरेको छ ।

यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार हाल जापानमा १ लाख १८ हजार भन्दा बढी कोरोनाका बिरामी घरमा नै उपचाररत छन् । यो संख्या अघिल्लो साताको तुलनामा २० हजारले बढी हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमित भइ घरमै उपचार पाउने मानिसहरुको संख्या अगष्ट २५ सम्ममा यो संख्या पाइएको हो । जुन अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य मन्त्रालयले प्रिफेक्चरद्वारा बेडको उपयोग दर र बिरामी हेरचाह केन्द्रहरुको ताजा स्थितिको बारेमा जानकारी गराएको छ ।

जस अनुसार अगष्ट २५ सम्म कोरोना भाइरसबाट संक्रमित भइ घरमा उपचार गरीरहेका मानिसहरुको संख्या देश भरमा १ लाख १८ हजार ३५ रहेको छ । 

देशमै १००,००० भन्दा बढी घरमा नै उपचाररत कोरोनाका बिरामी नाघेको पहिलो पटक हो ।

मन्त्रालयले अघिल्लो साताको तुलनामा यस्ता बिरामीको संख्यामा २२ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

यो एक महिना पहिले जुलाई २८ को तुलनामा ६ गुणा भन्दा धेरै हो ।

जस अनुसार राजधानी टोकियोमा सर्वाधिक २५ हजार ४५ जना पाईंदा यहाँ गत साताको तुलनामा २,८७४ ले बढेको छ ।

खानागावा प्रान्तमा १५,२०३ रहेको छ । यहाँपनि गत साताको तुलनामा २१ सय ९९ जना थपिएका छन् ।

अर्को शहर ओसाकामा १४,७३२ रहँदा सर्वाधिक ५६ सय ९३ जना एकै हप्तामा थपिएको छ ।

आईचि प्रान्तमा ९३ सय ४३ जना पुग्दा पछिल्लो साता ५३ सय ५६ जना थपिएका छन् ।

यसैगरि साइतामा प्रान्तमा पनि यो संख्या उच्च रहेको र संख्या समायोजनको काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

देशभर हाल होटल र अन्य आवासमा चिकित्सा उपचार प्राप्त गर्ने मानिसहरु को संख्या १९ हजार ९ सय ३७ रहेको छ । हप्तादिनको बिचमा १९ सय ७ जना यस्ता लक्षण सहितका उपचार आवश्यक बिरामी बढेको र गत महिनाको तुलनामा २.४ गुणाले बृद्धि भएको मन्त्रालयले बताएको छ ।

यसबाहेक, अस्पताल भर्ना स्वीकृति समायोजन गरीरहेकाको संख्या २८ सय २ जना रहेको छ । जुन अघिल्लो हप्ताको तुलनामा १.५ गुणाले बढेको र अघिल्लो महिनाको तुलनामा ४.९ गुणाले बढी हो ।

ह्योगो प्रान्तमा ८६२ जना, कागावा प्रान्तमा ४७३ जना, कुमामोतो प्रान्तमा ४०८ जना र टोकियोमा ३७२ जना मानिसहरु अस्पतालमा भर्ना भएर चिकित्सकिय उपचार लिइरहेका छन् ।


Comments