जापानमा बिदेशी विद्यार्थी १० प्रतिशत घट्यो, नेपाली विद्यार्थी २४ हजार

 



टोकियो, जापान ।

जापानमा बिदेशी विद्यार्थीहरुको संख्या १० प्रतिशत भन्दा बढीले आरोलो लागेको छ ।

जापानमा मे २०२० सम्म विदेशी विद्यार्थीहरुको संख्या १०.४ प्रतिशतले घटेको छ ।

एक बर्ष अघिको तुलनामा घटेर जापानमा विदेशी विद्यार्थीको संख्या २ लाख ७९ हजार ५ सय ९७ रहेको तथ्यांकले देखाएको छ ।

कोभिड महामारीले धेरैलाई आफ्नो अध्ययन योजना रद्द वा स्थगित गर्न बाध्य पारेको देखिएको छ ।

विश्वविद्यालय, जापानी भाषा स्कूल र देशमा अन्य शैक्षिक संस्थाहरुमा भर्ना विदेशी विद्यार्थीहरुको संख्या २०१९ मे महिनामा ३१२,२१४ रहेको थियो । अघिल्लो बर्षको तुलनामा उच्चतम बृद्धि देखिँदा सन् २०१९ मा लगातार सातौं वर्ष बृद्धि देखिएको थियो । तर पछिल्लो तथ्यांकले बिदेशी विद्यार्थीको संख्या घटेको देखाएको छ ।

देश र क्षेत्र अनुसार, जापानमा अध्ययन गर्ने चिनियाँ बिद्यार्थीहरुको संख्या मे १, २०२० अनुसार १२१,८४५ रहेको छ, जुन अघिल्लो बर्षको उही मिति अनुसार २.१ प्रतिशतले कम हो ।

जापान विद्यार्थी सेवा संगठनका अनुसार भियतनामी विद्यार्थीको संख्या १५.२ प्रतिशतले घटेर ६२,२३३ रहेको छ । तेस्रो संख्यामा नेपाल रहेको छ ।

जापानमा नेपाली विद्यार्थीको संख्या सन् २०२० को आंकडा अनुसार २४ हजार २ रहेको छ । यो संख्या अघिल्लो बर्षबाट ८.८ प्रतिशतले घटेको विवरणमा उल्लेख छ । अन्य देशहरु जस्तै नेपालबाट पनि आउने विद्यार्थीको संख्यामा गिरावट र जापानबाट फर्कने संख्या बढ्दा नेपाली विद्यार्थीको संख्यामा कमि आएको देखिन्छ । यस बाहेक विद्यार्थी भिषाबाट अन्य भिषा परिवर्तन गर्ने संख्याले पनि यसमा कमी ल्याएको छ ।


Comments