जापानमा आपतकाल अझै २ हप्ता लम्ब्याउने तयारी

 



टोकियो, जापान ।

जापानले कोरोना भाइरसको उच्च संक्रमण नियन्त्रण गर्न लगाएको आपतकालको म्याद अर्को २ हप्ता थप्नेबारे विचार गरिरहेको छ । हाल टोकियो समेत देशका ४७ प्रिफेक्चरमध्ये २१ प्रिफेक्चरमा लगाइएको आपतकालको म्याद अर्को १४ दिन बढाउन लागिएको सरकारी स्रोतले बुधबार बताएको छ ।

आपतकालको म्याद सेप्टेम्बर १२ मा सकिने क्रममा रहेको छ । केही क्षेत्रमा नयाँ संक्रमितको संख्या घटेको भएपनि सरकार अहिले पनि उच्च संक्रमण नियन्त्रण गर्न र स्वास्थ्य प्रणालीमाथिको दबाब कम गर्न संघर्षरत् छ । 

यसबारे आधिकारिक निर्णय भने सरकारको कोरोना भाइरससम्बन्धी कार्यबलको आगामि हप्ता बस्ने बैठकमा गरिने स्रोत भनाई छ ।

कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टको कारण देशभर दैनिक नयाँ संक्रमण बढेर २५ हजार माथि पुगेको छ । मंगलबार कोभिडका गम्भीर बिरामीको संख्या २११० को नयाँ उचाईमा पुगेको छ । योसँगै भेन्टिलेटर वा आईसीयूमै राखेर उपचार गराउनु पर्ने यस्तो बिरामीको संख्या लगातार १९ औं दिन पनि नयाँ उचाईमा पुगेको थियो ।

बुधबार भने यस्ता बिरामीको संख्या १८ ले घटेर २ हजार ९२ मा आएको छ । संक्रमणको दर माथि निगरानी गर्नु जरुरी भएको मन्त्री परिषद्का मुख्य सचिव कासुनोबु कातोले बुधबार चेतावनी दिएका थिए । गत हप्ता स्वास्थ्य मन्त्री नोरिहिसा तामुराले एनएचके टिभीको एक कार्यक्रममा आपतकाल तय भएको मितिमा नहट्नेतर्फ संकेत गरेका थिए ।

आपतकाल नै हटेपनि सरकारले संक्रमण रोक्न अर्धआपतकाल लगाउने सक्ने स्रोतहरुले बताएका छन् । गत महीना पनि सरकारले अगष्टको अन्त्यमा सकिने क्रमा रहेको आपतकाले म्याद १२ दिन थपेर आपतकाल अन्य प्रिफेक्चरमा पनि विस्तार गरेको थियो ।


Comments