जापान अहिले कसले प्रवेश पाउँछन् ? भिषा, क्वारिन्टिन देखि हवाई उडानको ताजा अवस्था

 




टोकियो, जापान ।

जापानले ओमिक्रोन 'स्ट्रेन' कोभिड संक्रमण देशभित्र प्रसारपछि विश्वभरबाट नव प्रवेशिमा लगाएको प्रतिबन्ध फेब्रुवरी २८ तारिखसम्म लम्ब्याएको छ ।

प्रवेश प्रतिबन्धका कारण नियमत विद्यार्थी, कामदार, व्यापारि, पर्यटक, पारिवारिक लगायत कुनैपनि नयाँ भिषा बाहकले जापान प्रवेश पाएका छैनन् । तर अपवादको रुपमा जापानले मानविय कारण, जापानको हित र विशेष परिस्थितिमा प्रवेश छुट दिंदै आएको छ ।

हालसम्म जापानले भन्ने गरेको यस्ता मानविय आधारमा छुट पाउनेमा विशेषत कुटनीतिक नियोग सम्वद्ध कर्मचारी र सरकारी अधिकारीहरु छन् ।

मानविय आधारमै जापानले अफगानिस्तानबाट विशेष परिस्थिति जन्य अवस्था जनाएर दर्जनौं अफगानि नागरिकहरुलाई जापान प्रवेश दिएको छ ।

नेपालबाट हालसम्म प्रवेश पाएका विशेष अवस्थाहरुमा कुटनीतिक कर्मचारी वा अधिकारीहरु बाहेक अन्य न्यून घटना छन् ।

विशेषत परिवारको पालनपोषण गर्नुपर्ने अभिभावक जापानमा रहेका कारण साना बालबालिकालाई प्रवेशमा छुट दिने गरेको पाईन्छ । तर यसमा पनि घटना र परिस्थिति अनुसार दिने र नदिने दृष्टान्तहरु पाईएका छन् ।

श्रीमान्, श्रीमती वा एकाघरको परिवारका सदस्य जापानमा बिरामी, सुत्केरि स्याहार गर्न आउनै पर्ने परिस्थितिजन्य अवस्थामा घटनाको प्रकृति र कागजात हेरेर विशेष प्रवेश पाइरहेका छन् ।

परिवारका सदस्यको निधन वा अन्तिम संस्कारमा सहभागी हुन जापान आउनुपर्ने वा यस्ता अवस्थामा नेपालमा गएको समयमा भिषा समाप्त भएकाहरुले पनि प्रवेशमा छुट पाएको देखिन्छ ।

अहिले नेपाल जापान यात्रा गर्न कस्तो छ अवस्था ?

हालसम्म जापानले लागू गरेको नियमानुसार जापानको आवासिय भिषा अर्थात् 'रि-ईन्ट्रि'को वैध अवधि रहेकालाई आउजाउ गर्न कुनै समस्या छैन ।

भनेको तपाईंको 'रि-ईन्ट्रि' भिषा हो भने, जापानले नयाँ भिषा वाहकलाई प्रतिबन्ध लगाइरहँदा पनि तपाई नेपाल जापान यात्रा गर्न सक्नुहुन्छ ।

तर यसमा सचेत, सावधानी र बिचार गर्नुपर्ने महत्वपूर्ण पक्षहरु भने छन् ।

विचार पुर्याउनुपर्ने पहिलो पक्ष हो भिषा अवधि । यदि सामान्यत तीन महिना वा सो भन्दा कमको भिषा छ भने, अति महत्वपूर्ण घटनाले नेपाल जानै पर्ने अवस्था बाहेक यात्रा नगर्नु उत्तम हुन्छ । किनभने जापान र नेपालमा पनि ओमिक्रोन संक्रमण थप भयावह अवस्थामा फैलने सम्भावना रहेकाले जापानले स्वास्थ्य सेवा प्रणाली जोखिममा परेको अवस्थामा 'रि-ईन्ट्रि' बाहकको यात्रामा पनि बन्देज लगाईदिन सक्ने सम्भावना उत्तिकै छ । त्यस्तो अवस्थामा नेपालमा नै रोकिनु पर्दा भिषा समाप्त भई पुन नयाँ प्रक्रिया अपनाउन झण्झट र जोखिम दुवै रहने भएकाले सोचविचार गर्नु सहि निर्णय हुनसक्छ ।

 

भिषाको एक बर्ष वा सो भन्दा लामो अवधि भएका तथा नेपालमा एक बर्षसम्म बस्न सक्ने सम्भावना भएकाहरुले भने 'मल्टिपल रि-ईन्ट्रि' अनुमति 'ईमिग्रेसन'मा गएर लिनु भएमा सामान्यत तीन बर्षको अवधिमा जुनसुकै समयमा जापान आउँदा पनि समस्या पर्दैन । किनभने यसअघिको कोभिड महामारिमा भिषाको अवधि भएको तर 'रि-ईन्ट्रि' अवधि एक बर्ष पार हुँदा भिषा भएरपनि धेरै व्यक्तिले प्रवेश नपाउँदा पुन नयाँ भिषाको प्रक्रिया अपनाउनु परेको पाईएको छ ।

एक बर्षसम्मको भिषा भएका तर छिट्टै फर्कनेगरि जापानबाट नेपाल जान लागेकाहरुले भने बिमानस्थल अध्यागमनमा भर्नुपर्ने कागजातमा एक बर्ष भित्रमा फर्कने भन्ने 'रि-ईन्ट्रि' कागजात भर्दा हुन्छ ।

नेपालबाट जापान प्रवेश गर्नेहरुको लागि जनवरी १७ तारिख सोमबार मध्यरातबाट अनिवार्य तीन दिन सरकारले तोकेको सुविधा केन्द्रमा 'क्वारिन्टिन' बस्नुपर्ने नियम लागू भएको छ ।

यसको अर्थ जापानमा कोभिड-१९ भाइरस बिरुद्धको जुनसुकै र जतिमात्रा खोप लगाएको भएपनि वा नेपालमा जुनसुकै खोप जतिमात्रा लगाएको भएपनि वा कुनैपनि खोप लगाउँदै नलगाएको भएपनि अनिवार्य बिमानस्थल अध्यागमनले तोकेको आवासगृहमा  ३ दिन 'क्वारिन्टिन' बस्नुपर्नेछ ।

यस बाहेक ७२ घण्टा भित्र जापान प्रवेश गर्दा जापानले तोकेको ढाँचामा गरिएको पीसीआर परीक्षण, जापानको बिमानस्थलमा आईपुगेपछि गर्नुपर्ने पीसीआर परीक्षण, बिमानस्थलबाट आफ्नो निवासस्थानसम्म निजि सवारी साधनमा नै जानुपर्ने जस्ता नियम फेरिएको छैन । 'होम आईसोलेसन'मा बस्दा कडा 'क्वारिन्टिन' नियम पालना गर्नुपर्नेछ, जुन अवधिमा अध्यागमन विभागले चाहेको समयमा फोन तथा भिडियो मार्फत सम्पर्क तथा शंकास्पद गतिविधि गरेको लागेमा बासस्थानको आकस्मिक निरिक्षण समेत गर्नसक्नेछ ।

तर 'क्वारिन्टिन' बस्नुपर्ने अवधि भने १४ दिनबाट घटाएर १० दिन लागू गरिएको छ । यसको अर्थ जापान अवतरण गरेको भोलीपल्टबाट १० दिन ३ दिन 'एयरपोर्ट क्वारिन्टिन' र ७ दिन आफ्नो निवासस्थानमा अनिवार्य 'क्वारिन्टिन' बस्नुपर्नेछ ।

बिमानस्थलमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएमा भने 'एयरपोर्ट' अध्यागमनले तोकेको अवधिभर तोकिएको स्थानमा बस्नुपर्नेछ । त्यस अवधिमा अध्यागमनले निर्देशन गरे अनुसार 'पीसीआर' परीक्षण लगायत गराउनुपर्नेछ ।

यस अवधिमा 'एयरपोर्ट क्वारिन्टिन'मा होटलमा बस्दाको खाना, बास, उपचार लगायत सबै खर्च जापान सरकारले व्यहोर्दै आएको छ ।

नेपाल जापान उडान अवस्था

नेपालको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले आगामी मार्च महिनासम्मको लागि नेपाल र जापानबिचको उडान साप्ताहिक रुपमा एकदिन मात्रै गर्दै आएको छ ।

हाल नेपालबाट मंगलबार नेपाली समय अनुसार रात १०:५० बजे उड्ने बिमान करिव ६ घण्टाको उडानपछि जापानमा बुधवार बिहान ८:२५ बजे अवतरण हुँदै आएको छ । यसैगरि जापानबाट हरेक साताको बुधवार बिहान १०:२५ बजे उडान भरेर करिव ८ घण्टाको उडानपछि नेपालमा सोही दिन दिउँसो ३ बजेर ५० मिनेटमा अवतरण हुने गरेको छ ।

जापानबाट नेपाल तर्फको एकतर्फी हवाई भाडा न्यूनतम करिव ७ मान र नेपालबाट जापान आउँदाको हवाई भाडा न्यूनतम करिव ९ मान ६ हजार रहेको छ । न्यूनतम मूल्यका टिकट सकिएपछि त्यो भन्दा थप महंगो पर्नेछ, जसमा अधिकतम 'बिजनेस क्लास'को जापानी येन १५ मान ५ हजार सम्म पर्दछ ।

नेपाल एयरलाईन्स बाहेक जापानबाट नेपाल कतार, सिंगापुर, ईमिरेट्स, ईत्तिहाद, श्रीलंकन, मलेसियन एयरहरुले पनि ट्रान्जिट उडान भर्दै आएका छन् ।

मिति, 'ट्रान्जिट' समय, टिकटको सिट प्रकार अनुसार 'एयरलाईन्स'हरुको टिकट मूल्यमा भिन्नता रहेको छ । जसमा अनलाईनमा काट्दा न्यूनतम ५ मान र 'ट्राभल एजेन्सी'हरुमा काट्दा औषत ५ मान ५ हजार देखि माथि रहेको पाईन्छ । तर न्यूनतम टिकटमा पनि अनलाईनमा काट्दा लगेज, व्यागेज जस्ता कुरा नजोडिएको हुनसक्ने भएकाले अनलाईनमा किटक काट्दा, 'क्यान्सिलेसन', 'रिफण्ड' जस्ता कुरामा पनि ध्यान दिन अत्यन्त जरुरी छ ।

नेपालबाट जापान प्रवेशको हकमा भने जापानले दैनिक यात्रुसंख्या केवल ३,५०० मात्र प्रवेश दिने भएकाले हवाई टिकट महंगो रहेको छ ।

लगेज पुन चेकजाँच, छुट्टै फाराम भर्नुपर्ने जस्ता झण्झटिला प्रक्रियाका कारण 'ईण्डियन एयरलाईन्स'को टिकट सामान्यत ७ मान ५ हजार येन आसपास पाईने गरेको भएपनि नेपाली यात्रुहरु यसमा यात्रा गर्न नरुचाउने गरेका छन् ।

त्यस बाहेक मलेसिया 'ट्रान्जिट' भएर नेपाल एयरलाईन्स र मलेसियन वा अल निप्पोन एयर, नेपाल एयरलाईन्समै बैंकक 'ट्रान्जिट' भएर अल निप्पोन एयर, श्रीलंका, दुबई, सिंगापुर, मलेसिया नेपालबाट जापान आउने हवाई रुटका विकल्प हुन् ।

यि सबै हवाई उडानको मूल्य अधिकतम न्यूनतममा जापानी येन ७ मान ५ हजार देखि १० मान येन आसपास रहने गरेको छ ।

टिकटमा 'रिफण्ड', 'क्यान्सिलेसन', 'लगेज' 'व्यागेज'का आधारमा समेत टिकटको मूल्यमा अन्तर पर्ने हुनाले यात्रुहरुले आफुले कस्तो टिकट काटेको छु भनेर यि कुरामा पहिलेनै ढुक्क हुनुपर्दछ । किनभने कोभिड संक्रमण जोखिमको अहिलेको अवस्थामा जुनसुकै समयमा टिकट 'क्यान्सिल' गर्नुपर्ने सम्भावना र बाध्यता आईपर्नसक्ने भएकाले केही हजार सस्तो टिकट पाएँ भन्दैमा 'नन रिफण्डेबल टिकट' नलिनु नै उत्तम हुन्छ ।

 

Comments