जापानलाई नयाँ भिसा प्रबेश खुलाउन अमेरिकी, यूरोपेली व्यवसायीहरुको अनुरोध


 


टोकियो, जापान ।

अमेरिकी तथा यूरोपेली संगठनका व्यवसाय तथा शिक्षा क्षेत्रका अगुवाहरुले जापान सरकारलाई बुधबार कोभिड–१९ का कारण सीमामा गैर–आवासीय व्यवसायिक आगन्तुक र प्राज्ञहरुको प्रवेशमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन् ।

 

सरकारको सो नीतिका कारण जापानको अर्थतन्त्रलाई हानी पुग्नुको साथै भविष्यमा आवश्यक प्रतिभा गुमाउने जोखिम रहेको चेतावनी पनि उनीहरुले दिएका छन् ।

प्रवेश प्रतिबन्धले आर्थिक र मानविय क्षति भइरहेको अनि यसका कारण जापानी अर्थतन्त्र पुनःजीर्वित गर्ने प्रयासहरुमा धक्का लागेको जापानमा अमेरिकी चेम्बर कमर्शका सल्लाहकार क्रिस्टोफर लफ्लेर भन्छन् । जापानमा विदेश संवाददाताहरुको क्लबमा आयोजित पत्रकार सम्मेलनमा अनलाइनबाट सहभागी हुँदै बुधबार उनले त्यस्तो चेतावनी दिएका हुन् ।

 

जापानले थप लगानीकर्ताहरु आकर्षित गर्ने लक्ष्य लिएको भएपनि प्रतिबन्धले आफूहरुको लगानीसम्बन्धी निर्णयमा नकारात्मक असर पारिरहेको लफ्लेरले बताए । खोप लगाएका व्यवसायिक यात्री र प्राज्ञहरुलाई प्रवेशको अनुमति दिएर विज्ञानमा आधारित नीति अबलम्बन गर्न पनि उनले सरकारलाई अनुरोध गरेका छन् ।

 

कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन भ्यारिएन्टलाई फैलिन नदिन जापानले नोभेम्बर ३० यता नवप्रवेशी विदेशीका लागि सीमा ठप्प पारेको छ । जापानी सञ्चार माध्यमहरुले प्रवेश प्रतिबन्धका दुष्परिणामहरुबारे कमै समाचार छाप्दा यो समस्या समाधानमा सरकारले हतारो नदेखाएको जापानमा यूरोपेली व्यवसाय परिषद्का अध्यक्ष माइकल म्रोक्जेकले पत्रकार सम्मेलनमा भनेका छन् ।

 

 

बुधबार बिहान म्रोक्जेकले जापानी प्रधानमन्त्री फुमिओ किशिदालाई भेटेका थिए । यात्रा प्रतिबन्धले निम्त्याएको समस्या, यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबारे सरकार सचेत रहेको म्रोक्जेकको भनाइ छ ।

 

तर यो महीनाको अन्त्यसम्म केही पनि परिवर्तन नहुने देखिएको र मार्चको शुरुबाट भने यात्रा प्रतिबन्धको मामिलामा केही सकारात्मक परिवर्तन आउँछ भन्ने आशा गरौं भन्ने उनको भनाइ छ ।

Comments