जापान प्रबेश नखुल्दा ५० हजार प्राविधिक प्रशिक्षार्थी भियतनाममा अड्किए



जापानमा प्राविधिक प्रशिक्षार्थीका रुपमा काम गर्ने योजना बनाइरहेका करीब ५० हजार भियतनामीहरु आफ्नै गृह देशमा थन्किएर बसेका छन् ।

जापान सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न करीब २ वर्षयता सीमामा निरन्तर कडाई गरिरहेको छ । जापान आउने बाटो नखुलेको अनि जापान आउन भनेर लिएको ऋणको बोझका कारण कयौंमा निराशा र कुन्ठा उत्पन्न हुन थालेको छ ।

जापानले सन् २०२० को मार्चदेखि नै महामारीतर्फ देखाउँदै सीमामा विदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाउन शुरु गरेको थियो । जापान सरकारले पछिल्लो समय कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन भ्यारिएन्टका कारण सीमामा पुनः बन्देज लगाएको थियो ।

सो बन्देजलाई फेब्रुअरीको अन्त्यसम्म लम्ब्याइएको छ । गैर आवासीय विदेशीहरुलाई छिर्न नदिने जापानको नीतिप्रति भियतनामको हा तिन्ह  प्रान्तमा बस्ने २० वर्षका ले भियत टानले आक्रोश व्यक्त गरेका छन् ।

जापानले प्रवेश प्रतिबन्ध लगाउन विदेशीहरुमाथि मात्रै निशाना साध्नु अनुचित भएको उनी बताउँछन् । टानले जापानमा रहेको एक यन्त्र प्रसेशिङ कारखानामा सन् २०२० को अक्टोबरमै प्रशिक्षण शुरु गर्ने ठानिएको थियो । तर जापानले सीमा बन्द गर्यो । यसका कारण उनको भविष्यको योजनाहरु नै धरापमा परेको छ ।

टानले जापान आउनका लागि आवश्यक खर्च जुटाउन र जापानमा प्रशिक्षण मिलाइदिने घरेलु संगठनलाई तिर्नु पर्ने शुल्कको जोहो गर्न बैंकबाट करीब ५ लाख येन ऋण लिएका थिए । उनी अझै जापान आउन सकेका छैनन् । तर लिएको ऋण त उनले जसरी पनि तिर्नु पर्यो । आफू जापान छिर्न सकिने भन् आफू र आफ्नो परिवारलाई के होला भनेर उनले उल्टै प्रश्न गरेका छन् ।

भियतनाम सरकारले जनवरीमा सीमापार यात्रा उल्लेख्य रुपमा खुकुलो बनाएको छ । भियतनाम छिरेपछिको सेल्फ आइशोलेशन अवधि घटाएर तीन दिनमा झारिएको छ ।

जापान र भियतनामबीच अहिले नियमित उडानहरु भइरहेका छन् । जसका कारण महामारीले गर्दा जापानमा अड्किएका भियतनामी प्रशिक्षार्थीहरु स्वदेश फर्किन सकेका थिए । तर हवाई यात्रा एकातर्फ मात्रै भइरहेको छ ।

यसका कारण विदेशी कामदारमाथि निर्भर विशेषगरी ग्रामीण भेगका जापानी रोजगारदाताहरु पीडित भएका छन् । महामारीका कारण स्वदेश फर्किएका प्रशिक्षार्थीहरु नै पूर्ति भएका छैनन् ।

यस्तोमा अरु विदेशी कामदार पनि नआउँदा हरेक क्षेत्रमा कामदारको अभाव देखिएको चिबा प्रिफेक्चरमा प्रशिक्षार्थी र रोजगारदाताबीच मध्यस्थताको रुपमा काम गर्ने एक व्यवस्थापन संगठनका वरिष्ठ अधिकारीले भनेका छन् ।

Comments