जापानका ३८ वर्षीय एक
युवक सोजी मोरीमोतो गजबको जागिर गर्छन् । उनको जागिरको नाम नै ‘केही गर्न नपर्ने
मान्छेलाई भाडामा लिनु’ रहेको छ । मोरीमोतोलाई जागिर दिनेहरूले उनलाई खाने,
मज्जाले किनमेल गर्ने र डुलिरहने जस्ता गतिविधि
मात्र गराउन सक्छन् ।
उनले भनेका छन्, “म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो
गफगाफको जवाफसम्म दिनेगर्छु । अनि बसिबसि खान्छु ।”
यस्तो जागिर उनलाई मन
पर्छ । तर, यस्तो सजिलो जागिरमा पनि
उनी अझै त्यसै बसेर आनन्द लिन खोज्छन् । उनको यस्तै बानीले गर्दा उनी यस्तो
जागिरका लागि बढी उपयुक्त ठहर पनि भएका छन् ।
उनले सीबीएस स्याटर्डे
मर्निङलाई भनेका छन्, “म केही काम
नगर्ने भनेर नै जागिर खान्छु । म कुराकानीसमेत आफैँ सुरु गर्दिनँ । कसैले केही
सोधेमा संक्षिप्त जवाफ दिन्छु ।”
मानिसहरूले उनलाई नरमाइलो
लागेको बेला सँगै बसिदिएको, खाना खाइदिएको र
हत्या स्वीकारेको जस्ता गफ चुपचाप सुनिदिएको जस्ता गतिविधिका लागि मासिक तलब दिने
गर्छन् । मोरीमोतोले सन् २०१८ देखि यस्तो अस्वाभाविक काम गर्न थालेका हुन् ।
त्यतिबेला बेरोजगारको अवस्थामा उनले ‘डू नथिङ रेन्ट–अ–म्यान’ नाम ट्विटर एकाउन्ट
खोलेका थिए । अहिले उनको २ लाख भन्दा बढी फलोअर छन् ।
मोरिमोतोले भनेका छन्,
“यस्ता कामदार माग्ने मेरा ग्राहकहरू विभिन्न
परिस्थितिका विविध व्यक्तित्वहरू देखेर आश्चर्य लाग्छ । केही मानिस धेरै एक्लो र
नियास्रो महशुस गर्दछन् । कोही कतै एक्लै जान लजाउँछन्, कसैका साथ खोज्छन् ।”
उनले दिनको तीनजनासम्म
ग्राहकका यस्ता सजिलो काम गर्ने गरेको र अहिलेसम्म तीन हजार अर्डर पूरा गरिसकेको द
इन्डिपेनडेन्टले जनाएको छ ।
उनी भन्छन्, “मैले चुपचाप कफी पिइदिने, कसैको कुरा सुनिदिने बर्थ डेमा केक सेयर
गरिदिने, सँगै सपिङ र
रेस्टुरेन्टमा गइदिने जस्ता पनि काम गरिसकेको छु । तर, मैले घर सफा गर्ने, लुगा धोइदिने, नाँगो बसेर पोज
दिने तथा कसैका साथि बनिदिने जस्ता अनुरोध भने स्वीकारेको छैन ।”
जापानले अहिले आफ्ना
नागरिकका नियास्रोपना र सामाजिक एक्लोपना कसरी व्यवस्थित गर्ने भन्नेबारे चुनौती
सामना गरिरहेको छ । सन् २०२० मा एघार वर्षयता पहिलोपटक पुन: आत्महत्याको दर बढ्न
थालेपछि यस समस्याका समाधानका लागि ‘एक्लोपना मन्त्री’ समेत नियुक्त गरेको थियो ।
स्रोत : बिजनेस इन्साइडर
Comments
Post a Comment