मार्चदेखि जापान प्रबेश खुकुलो !’ : तारो कोनो

 ‘




टोकियो, जापान ।

जापान सरकारले कोभिडका कारण सीमामा गरेको कडाई आगामी मार्चदेखि खुकुलो बनाउने अपेक्षा आफूले गरेको जापानका कोभिड–१९ विरुद्धको पूर्व खोपमन्त्री र सत्तारुढ दलका प्रमुख अधिकारी तारो कोनोले बताएका छन् ।

कोभिडका कारण करीब २ वर्षदेखि जापानको सीमा बन्द छ । विद्यार्थी, अनुसन्धाता र कामदारहरुको जीवनमा अवरोध उत्पन्न भएको छ । व्यवसायिक संघ–संगठनका नेताहरुले यसले आर्थिक गतिविधिमा पार्न सक्ने सम्भावित प्रभावबारे चेतावनी र चिन्ता व्यक्त गरिरहेका छन् ।

गत वर्षको अन्त्यतिर आंशिक रुपमा सीमा नियन्त्रणका उपायहरु खुकुलो बनाइएको भएपनि ओमिक्रोन भ्यारिएन्ट फैलिन थालेपछि नोभेम्बरको अन्त्यदेखि पुनः सीमा नीति खुकुलो पारियो । सरकारको यो कदमको जापानी नागरिकहरुले समर्थन गरेको सर्वेक्षणहरुले देखाएका छन् । प्रधानमन्त्री फुमिओ किशिदाले अहिलेका लागि फेब्रुअरीको अन्त्यसम्ममा सीमा नियन्त्रणका उपायहरु कायम गर्दैछन् ।

‘मार्च १ मा क्वारन्टिन हट्छ भन्ने आशा गरौं,’ कोनोले भने । यस्तो हुन पनि सक्ने नहुन पनि सक्ने भन्दै उनले यसका लागि तयार रहन महत्वपूर्ण भएको बताएका छन् । सरकारले जापानी नागरिक र विदेशी आप्रवासीलाई प्रवेशको अनुमति दिएर अपवादमा मात्रै नवप्रवेशी विदेशीहरुलाई आउन दिएको भन्दै कोनोले सामाजिक सञ्जालमा सरकारको नीतिको आलोचना पनि गरेका थिए ।

शुरुमा कोभिड नियन्त्रण गर्न सीमामा गरिएको प्रतिबन्धको कोनो आफैंले पनि सहमति जनाएका थिए । तर यसका कार्यान्वयनमा त्रुटी भएको उनको सोचाइ छ ।

‘हामीले विदेशीहरुविरुद्ध किन भेदभाव गर्ने ? कुनै व्यक्ति जापानी हो कि अमेरिकी हो कि इरानी हो भनेर ओमिक्रोनलाई त थाहा छैन नि,’ उनले भने । सरकारको यो नीतिको आर्थिक, वैज्ञानिक र अन्य जे सुकै होस्, कुनै तुक नभएको पनि उनले बताएका छन् । पयर्टकहरुलाई पर्खिन भनेपनि विद्यार्थी र व्यवसायका लागि यहाँ आउन खोज्नेहरुलाई आउन दिनु पर्ने पनि उनले बताए ।

कोनोले सुस्त गतिमा चलिरहेको बुष्टर खोप कार्यक्रमको पनि अलाोचना गरेका छन् । मार्चसम्ममा ओमिक्रोन साम्य भइसक्ने र आर्थिक गतिविधि पुनः ‘किकस्टार्ट’ गर्न सकिने अपेक्षा पनि कोनोले गरेका छन् ।

Comments