टोकियो, जापान ।
जापानलाई सन् २०४० सम्ममा
अहिलेको तुलनामा चार गुणा धेरै विदेशी कामदार चाहिने बताइएको छ । जापानले आफ्नो
आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने हो भने यहाँ विदेशीहरु अहिलेको भन्दा चौब्बर हुनु
पर्ने टोकियोस्थित बौद्धिक संस्थाहरुले बिहिबार एक अनुसन्धान प्रतिवेदनमा बताएका
हुन् ।
यस प्रतिवेदनले जनसंख्या
बनावटमा भइरहेको परिवर्तनका कारण बुढो जनसंख्या बढ्दै गएर काम गर्ने उमेर समूहको
खुम्चिदै गइरहेको अवस्थामा जापानको आप्रवासी कामदारमाथिको बढ्दो निर्भरता छर्लङ
पारेको छ ।
तर पछिल्ला वर्षहरुमा
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जापानले विदेशीहरुप्रति गरेको भेदभावले
सीमापारबाट आवश्यक प्रतिभा ल्याउन सक्ने उसको क्षमतामाथि ठूलो प्रश्न चिह्न खडा
गरेको छ ।
जापानले वार्षिक औसत १
दशमलव २४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सन् २०४० सम्ममा विदेशी कामदारको
संख्या बढाएर ६७ लाख ४० हजारमा पुर्याउनु पर्ने जाइकाको अनुसन्धान एकाई समेतका
बौद्धिक संस्थाहरुले एक प्रतिवेदनमा भनेका छन् । यो अनुमान सरकारले तय गरेको
दीर्घकालीन वृद्धि प्रक्षेपणमा आधारित छ ।
सो संख्या हाल जापानमा
रहेका विदेशी कामदारको तुलनामा झन्डै ३०० प्रतिशत धेरै हो । हाल जापानमा १७ लाख २०
हजार विदेशी कामदार छन् । यो भनेको यहाँको कार्यबलको साढे २ प्रतिशत हो ।
विदेशी कामदारको अनुपात
बढाउने विषयमा भविष्यमा चीनजस्ता देशहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकोले
शीघ्रता महसुस गरेर विदेशी कामदार स्वीकार गर्नेबारे आफूहरुले छलफल गर्नु पर्ने
जाइकाका अध्यक्ष शिनिची किताओकाले बिहिबार प्रतिवेदनबारे छलफल गर्न आयोजित एक
कार्यक्रममा भनेका छन् ।
जापानलाई दीर्घकालमा
विदेशीहरुले कामका लागि रोज्ने अनि उनीहरुका नजरमा आकर्षित बनाउने खालको कदम चाल्न
जरुरीमा पनि उनले जोड दिएका छन् । आगामी दुई दशकमा जापानले घरेलु कार्यबलको १०
प्रतिशतभन्दा धेरै गुमाउने अनुमान पनि प्रतिवेदनको छ ।
सन् २००८ मा उत्कर्षमा
पुगेयता जापानको जनसंख्या घटिरहेको छ । वृद्ध जनसंख्या तीव्र दरमा बढ्दै गर्दा काम
गर्ने उमेर समूह खुम्चिँदै गइरहेको छ । लामो समयदेखि जापानको विदेशी कामदार र
अध्यागमन नीतिमाथि प्रश्न गरिदैं आएको छ ।
कयौं क्षेत्रमा चरम
श्रमिक अभाव सम्बोधन गर्न सरकारले नयाँ भिसा श्रेणी सृजना गरेको थियो । तर कोभिडका
कारण नवप्रवेशी विदेशीमाथि लगाइएको प्रवेश प्रतिबन्धका कारण विदेशी प्रतिभाका
नजरमा आकर्षक गन्तव्यको छवि जापानले गुमाउन सक्ने देखिएको छ ।
Comments
Post a Comment