मार्चबाट पयर्टक बाहेक सबै भिसा बाहकहरुले जापान प्रवेश पाउने

 



 

जापान सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सीमामा गरेको नियन्त्रण खुकुलो बनाउने योजना बनाइरहेको छ ।

 

हाल ३ हजार ५०० रहेको सीमापारबाट आउने नवप्रवेशी विदेशीहरुको दैनिक आगमन संख्या आगामी महीनादेखि बढाएर ५००० मा पुर्याउने तयारी भइरहेको सरकारी स्रोतहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार छापेका छन् । समाचारअनुसार सरकार मार्चदेखि पयर्टक बाहेक अन्य सबै भिसा बाहकहरुलाई प्रवेश गराउने योजनासहित अगाडि बढेको छ ।

 

गैर आवासीय प्रवेशीहरुले कोभिड परीक्षणको नतिजा नकारात्मक आएको र कोभिड विरुद्धको खोपको तेस्रो मात्रा लगाएको प्रमाणपत्र पेश गरे भने हाल सात दिन रहेको क्वारन्टिन अवधि पनि खारेज गरिने एक स्रोतले बताएको छ ।

 

कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन फैलिन नदिने प्रयास तीव्र पार्ने क्रममा जापानले नोभेम्बरको अन्त्यमा सीमामा नवप्रवेशी विदेशीहरुको प्रवेशमा पुनः प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध फेब्रुअरीको अन्त्यसम्म कायम छ ।

 

सीमा नियन्त्रण खुकुलो बनाउने योजनाको विवरणबारे जानकारी दिन प्रधानमन्त्री फुमिओ किशिदाले बिहिबार पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ ।

 

विगत लामो समयदेखिको सीमा नियन्त्रणका करण जापान आउन नपाएपछि नवप्रवेशी विद्यार्थी, प्राविधिक प्रशिक्षार्थी, व्यवसायीहरु मात्रै नभएर व्यवसायिक संघसंगठन र शैक्षिक संस्थाहरुबाट समेत सीमा खुलाउने मागसहितका अनुरोध बढेपछि सरकार सीमा खुलाउने तयारीमा लागेको हो ।

 

 

Comments