जापानले देशभित्र प्रवेश
गर्नेहरुको क्वारन्टिन अवधि हालको ७ दिनबाट घटाएर ३ दिनमा ल्याउने विचार गरिरहेको
छ । सीमा नियन्त्रण खुकुलो बनाउने प्रयासअन्तर्गत सरकारले यसो गर्न लागेको भन्दै
बुधबार सरकारी स्रोतहरुले बताएका हुन् ।
मार्चदेखि नै शुरु हुने
गरी सरकारले दैनिक नव आगन्तुकको आगमनमा लगाएको सीमा पनि अहिलेको ३ हजार ५०० बाट
बढाएर ५००० मा पुर्याउने स्रोतले बताएको छ ।
सरकारले दैनिक सीमाभित्र
रहेर घुमफिर बाहेक अन्य प्रयोजनका लागि आउन चाहनेहरुलाई स्वीकार गर्न थाल्ने
अपेक्षा गरिएको छ । जापानमा कोरोना भाइरसको संक्रमण फेब्रुअरी उत्कर्षमा पुगिसकेको
हुन सक्ने बुधबार स्वास्थ्य मन्त्रालयको कोभिड–१९ सम्बन्धी सल्लाहकार समितिका
प्रमुख ताकाजी वाकिताले भनेका छन् ।
यद्यपि सतर्क भने रहनु
पनि उनको भनाइ छ । जापानले संक्रमण नियन्त्रण गर्न गैर आवासीय विदेशी नागरिकहरुमा
प्रवेशमा रोक लगाउँदै आएको छ । सरकारको सो नीतिका कारण कम्पनी देखि
विद्यार्थीहरुसम्म सबैले सीमा नियन्त्रण अति नै कठोर भएको भन्दै अन्तरराष्ट्रिय
स्तरमा समेत जापानले आलोचना खेप्नु परेको छ ।
कोरोना भाइरसको संक्रामक
प्रकार ओमिक्रोन भ्यारिएन्ट फैलिन नदिन जापानले नोभेम्बरको अन्त्यदेखि सीमा
नवप्रवेशी विदेशीका लागि ठप्प पारेको छ । त्यसयता सीमित संख्यामा अपवादको अवस्थामा
मात्रै विदेशीहरुलाई प्रवेशको अनुमति दिइएको छ ।
सो प्रतिबन्ध कम्तिमा पनि
फेब्रुअरीको अन्त्यसम्म कायम छ । पछिल्लो समय जापानी अधिकारीहरुले ओमिक्रोनका कारण
सीमामा गरिएको कडाई शुरुमा कति खुकुलो बनाउने भन्नेबारे छलफल गर्न थालेका छन् ।
अपेक्षित परिवर्तन गरियो
भने तेस्रो दिनमा कोभिडको परीक्षण नकारात्मक आएका व्यक्तिहरु घर वा अन्य बसोबास
स्थलमा सेल्फ–क्वारन्टिनमा रहन सक्ने स्रोतले बताएको छ ।
नव प्रवेशीहरुले तोकेका
शर्त वा आवश्यकताहरु पुरा गरेको पाइएमा क्वारन्टिन नै खारेज हुने सम्भावना बारे
पनि स्रोतहरुले औंल्याएका छन् ।
Comments
Post a Comment