टोकियो, जापान ।
जापान सरकारले आर्थिक
वर्ष २०२३ मा यहाँ काम गरिरहेका विदेशीहरुको डेटा संकलन गर्न नयाँ सर्वेक्षण शुरु
गर्ने भएको छ । उनीहरुको आय र कामको प्रकार लगायत जानकारी लिने उद्देश्यले सो
सर्वेक्षण शुरु गर्न लागिएको हो ।
पछिल्लो समय जापानमा
विदेशी कामदारहरु विशेषगरी प्राविधिक प्रशिक्षार्थीहरुमाथि दूरव्यवहारका घटनाहरु
सार्वजनिक भइरहेकै समयमा सरकारले विदेशी कामदारलाई टेवा दिन यो सर्वेक्षण गर्न
लागेको हो ।
गत वर्षको अक्टोबरसम्ममा
जापानमा विदेशी कामदारको संख्या १७ लाख ३० हजारको कीर्तिमानी उचाईमा उक्लिएको श्रम
मन्त्रालयको तथ्यांकले देखाएको छ । तर सरकारसँग उनीहरुका आवासीय हैसियत, राष्ट्रियता र कार्यस्थलको
आकार जस्ता सामान्य जानकारी मात्रै छ ।
सरकारलाई विदेशी
कामदारहरुले काम गर्ने वास्तविक अवस्था थाहा नभएकोले उनीहरुलाई पर्याप्त टेवाका
उपायहरु ल्याउन नसकेको भन्दै आलोचकहरुले औंल्याइरहेका छन् ।
डेटा संकलनको ठोस योजना
आर्थिक वर्ष २०२२ भित्र तयार पारिनेछ । सर्वेक्षण भने त्यसपछिको आर्थिक वर्षमा हुनेछ
। जापानी नागरिकहरुको श्रम तथ्यांकसँग तुलना गर्न मिल्ने गरी यो डेटा संकलन गरिने
श्रम मन्त्रालयले बताएको छ ।
फेब्रुअरीमा विज्ञहरुको
समितिले परिकल्पना गरेको सर्वेक्षणसम्बन्धी अन्तरिम प्रतिवेदनमा भने सर्वेक्षणले
शुरुमा प्राविधिक प्रशिक्षार्थी लगायत विदेशी कामदार भर्ना गर्ने कार्यालयहरुलाई
समेट्ने बताइएको थियो ।
यसमा विदेशी कामदारहरुलाई
उनीहरुको आय, कामको प्रकार र कार्य समय जस्ता अन्य प्रश्नहरु सोधिनेछ ।
प्रश्नावलीमा उमेर र लिंग जस्ता आधारभूत कुरा बाहेक कामदारको जापानी भाषामा दक्षता, मातृ भाषा, बसाईको अवधि, उनीहरुले पठाउने
गरेको विप्रेषणको आकारआदि बारे पनि प्रश्नहरु हुनेछ ।
Comments
Post a Comment